"अतिथि भ्रमण / मौन आवाज" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
10:51, 12 सितम्बर 2024 के समय का अवतरण
तपाईं हाम्रो अतिथि हुनुहुन्छ
अचानक यो लोकमा आउनु भो
तपाईंलाई स्वागत छ !
तपाईंले केही हेर्छु भन्नू भो
केही सुन्छु भन्नू भो
केही बुझ्छु भन्नू भो
हेर्नुहोस् -
त्यो मन्दिर/ मस्जिद / चर्च / गुम्बा / पापीहरूको क्रिडास्थल हो
त्यहाँ धर्मको नाममा अनेक पाप हुन्छ !
हेर्नुहोस् -
त्यो सुन्दर देखिने कुरुप शहर
त्यहाँ सम्बन्ध - भावना र / आमा बिक्री हुन्छ !
हेर्नुहोस् -
सबैथोक ध्यानपूर्वक हेर्नुहोस् !
तपाईंले इतिहास हेर्छु भन्नू भो
सभ्यता अवलोकन गर्छु भन्नू भो
आधुनिक विकास हेर्छु भन्नू भो
हेर्नुहोस् -
त्यो जर्जर खण्डहर हाम्रो इतिहास हो !
हेर्नुहोस् -
त्यो नग्नता र / अश्लिलता हाम्रो सभ्यता हो !
हेर्नुहोस् -
त्यो गतिहिनता र / जड्ता हाम्रो आधुनिकता हो !
हेर्नुहोस् -
उ ... त्यो रातो झण्डा बोक्ने मान्छे पाखण्डी हो !
हेर्नुहोस् -
उ .... त्यो आन्दोलनकारी दलाल हो !
हेर्नुहोस् -
उ ..... त्यो नारा लगाउने व्यापारी हो !
हेर्नुहोस् -
उ .......त्यो बर्दी लगाउने चोर हो !
हेर्नुहोस् -
उ ..... त्यो बन्दुक समाउने डाँका हो !
हेर्नुहोस् -
उ ...... त्यो ढाकाटोपी लगाउने भ्रष्ट हो !
तपाईंलाई आश्चर्य लाग्न सक्छ -
यो देशको शासक आतंककारी हो !
हेर्नुहोस् -
हेर्दै जानुहोस -
सुन्नुहोस् -
सुन्दै जानुहोस् -
बुझ्नुहोस् -
बुझ्दै जानुहोस् -
जुनलोकमा तपाईं आउनु भएको छ
त्यो नर्कलोक हो !
०००