"मित्रसेन / परिचय" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
पंक्ति 1: | पंक्ति 1: | ||
− | साहित्यकार र सङ्गीतकार मास्टर मित्रसेन थापा मगर | + | साहित्यकार र सङ्गीतकार मास्टर [[मित्रसेन]] थापा मगर |
[[चित्र:Mastermitrasenthapamagar.jpg|thumb|right|नेपालको हुलाक टिकटमा मास्टर मित्रसेन]][[चित्र:Master_Mitrasen_2001_stamp_of_India.jpg|thumb| right|भारतको हुलाक टिकटमा मास्टर मित्रसेन]] | [[चित्र:Mastermitrasenthapamagar.jpg|thumb|right|नेपालको हुलाक टिकटमा मास्टर मित्रसेन]][[चित्र:Master_Mitrasen_2001_stamp_of_India.jpg|thumb| right|भारतको हुलाक टिकटमा मास्टर मित्रसेन]] | ||
====पृष्ठभूमि==== | ====पृष्ठभूमि==== |
10:15, 27 जनवरी 2022 के समय का अवतरण
साहित्यकार र सङ्गीतकार मास्टर मित्रसेन थापा मगर
विषय सूची
- 1 पृष्ठभूमि
- 2 योगदान
- 2.1 छोटकरी परिचय
- 2.2 जन्मस्थान
- 2.3 पुर्ख्यौली थलो
- 2.4 शिक्षा
- 2.5 पेशा
- 2.6 जीविकोपार्जन
- 2.7 जीवनको लक्ष्य
- 2.8 नेपाल भ्रमण
- 2.9 साहित्य सिर्जना
- 2.10 साहित्यिक र साङ्गीतिक कृतिहरु सङ्ख्या
- 2.11 प्रकाशन
- 2.12 पाण्डुलिपि
- 2.13 नाटक विधा
- 2.14 निबन्ध
- 2.15 कथा रुपान्तरण
- 2.16 बुद्धवाणी
- 2.17 मित्रको डायरी
- 2.18 हास्यरस
- 2.19 खण्डकाव्य
- 2.20 गीत गायन
- 2.21 समाज सुधार
- 2.22 विद्यावारिधि
- 2.23 हुलाक टिकट
- 2.24 निचोड
पृष्ठभूमि
“नेपाली भाषा, साहित्य, तथा संस्कृतिको धरोहर मास्टर मित्रसेन थापा मगर हुन् ।” यो एकजना विद्वान् लेखकको उद्गार हो । वास्तवमा आफ्नो युग र समयको नेपाली भाषाका उनी महान् साहित्यकार, स्रष्टा, सर्जक, सांस्कृतिक र साङ्गीतिक अभियन्ता थिए ।
मास्टर मित्रसेनले गद्य विधामा नाटक, निबन्ध, अनुवाद, कथा रुपान्तरण तथा संस्मरण साहित्यका रचना एवं सिर्जना गरेका थिए । त्यस्तै पद्य विद्यामा कविता, गीत, भजन, गजल, काव्बली र खण्डकाव्य आदिका रचनाकार थिए । यिनी नेपाली साहित्यका आधुनिक कालको पूर्वार्धका साहित्यकार थिए । मास्टर मित्रसेन थापा मगरको साहित्यिक कृतिहरुमा दुई पक्ष छन् । पहिलो उच्च आध्यात्मिक, धार्मिक दर्शन तथा सिद्धान्तमा आधारित केही रचना र कृतिहरु छन् । दोस्रो जनस्तरमा लोक व्यवहार र सन्देशमूलक रचनाहरु लेखेका छन् । ती दुवै पक्षलाई आफ्नो कृतिहरुमा समेटेर मित्रसेन साहित्यको निर्माण गर्ने यिनले प्रयास गरेका थिए ।
मास्टर मित्रसेनले नेपाल नदेखे पनि नेपालको गुणगान गाएका थिए । प्रवासमा जन्मेर प्रवासमा हुर्के पनि भाषा, साहित्य, संस्कृति, सङ्गीत, रङमञ्चीय कला, आदिको क्षेत्रमा यिनले पितृभूमि नेपाललाई आफ्नो साधनाको थलो तथा कर्मक्षेत्र बनाएका थिए । तत्कालीन नेपाली समाजको मनोभावना तथा अनुभूतिहरुलाई समेटेर आफ्नो रचनाहरुमा अत्यन्त सरल र सहज ढङ्गबाट पोख्न तथा पस्कन यिनी पोख्त थिए ।
योगदान
(क) यिनीको समयमा स्वेदश तथा प्रवास दुवै स्थानमा नेपाली भाषा, साहित्य, संस्कृति, सङ्गीत तथा सामाजिक परस्परमा केही धमिलोपन देखा पर्न थालेको आभास हुन थालेको थियो । त्यसैबेला यिनले नेपाली सुगम सङ्गीत, आधुनिक गीत तथा लोकगीतमा मीठो मीठो शब्दहरु कुँदेर, लोक धुन कायम गरेर, सन्तुलित र ओजपूर्ण ढङ्गले गाउँघरको भाखामा गाउँघरकै मर्मस्पर्शी भावनालाई पोखेर एउटा विशाल नेपाली संस्कृतिको निर्माण गरेका थिए । (ख) समग्रमा हेर्ने हो भने मास्टर मित्रसेन थापाको जीवनको एक मात्र लक्ष्य थियो; युगौं युगौंदेखि चलिआएका सामाजिक, सांस्कृतिक र ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै नेपालीको पहिचानलाई सदैव अक्षुण्ण राख्नु । यसै कारणले गर्दा उनी नेपालीको मौलिक संस्कृति, सामाजिक पद्धति, पहिरन, भाषा, साहित्य र गीत गायनको प्रवर्धन तथा विस्तार गर्न गराउन जीव पर्यन्त एक ठाउँबाट अर्को ठाउँ डुली हिँडिरहन्थे । (ग) हिन्दू धर्म दर्शन, तत्सम्बन्धी पौराणिक कथा, भगवान बुद्धको दिव्य उपदेश र महात्मा टल्स्टायको नैतिक शिक्षामा आधारित विषयमा गद्य तथा पद्य विधामा ग्रन्थ, रचना गर्ने एवं लेख्ने मास्टर मित्रसेन नै हुन् । त्यस्तै गोर्खाली समाजका सामाजिक विसङ्गति र कुरीतिहरुलाई क्रमशः उन्मूलन पार्ने विषयवस्तुमा रचना गर्नका साथै ग्रामाफोनमा डिस्क रेकर्ड तयार पार्ने पहिलो रेडियो नाटक निर्माता मास्टर मित्रसेन नै हुन् । (घ) गीत, सङ्गीत र गायन कलामा नेपालीपन हुनु पर्दछ भनेर शसक्त अभियान सञ्चालन गर्ने सदाबहार गीतका गायक मित्रसेन नै हुन् । साथै जीवनपर्यन्त बिर्के टोपी, दौरा सुरुवाल र पटुका पहिरिएर स्वदेश तथा प्रवासमा नेपाली भाषा, साहित्य, सङ्गीत, संस्कृति, सामाजिक परम्परा तथा नेपाली पहिचानलाई चिनाउने एवं परिचय गराउने आफ्नो युगका अमर गायक मित्रसेन नै हुन् । (ङ) मास्टर मित्रसेनको बहुमुखी प्रतिभा तथा योगदानको विश्लेषण गर्दा यिनी पहिलै नेपाली भाषाका साहित्यकार हुन् त्यसपछि सङ्गीतकार हुन् । पहिलो समाज सुधारक हुन् त्यसपछि उनी गायक हुन् । पहिले यिनी नेपाली संस्कृतिका संवाहक हुन्, त्यसपछि जातीय जागरणका अभियन्ता हुन् ।
भारतीय साहित्यका निर्माता मास्टर मित्रसेन थापा भारतमा जन्मेका दोस्रो पुस्ताका डायस्पोरा हुन् । तत्कालीन भारतीय गोर्खाली समाजमा क्रमशः घट्दै गएको वा लोप हुन लागेको सामाजिक मूल्य र मान्यता अस्तित्वका साथै सामाजिक विघटनको अवस्थालाई पुनः जुटाउन, एकवद्ध गर्न, उत्थान तथा सुधार गर्न यिनले आफ्नो साहित्यिक कृति र साङ्गीतिक रचनाहरुको प्रभावकारी उपयोग गरेका थिए । यसै क्रममा यिनीका साहित्यिक रचनाहरु बारे प्रख्यात लेखक मगन पथिकले तयार गरेको पुस्तक “मित्रसेन” (सन् १९९१) मा भारतीय साहित्यका निर्माता श्रृङ्खलाअन्तर्गत साहित्य अकाडेमी दिल्लीबाट प्रकाशित भएको छ । यो पनि उनलाई ठूलो सम्मान नै हो ।
छोटकरी परिचय
जन्मस्थान
बहुमुखी प्रतिभाका धनी मास्टर मित्रसेन थापा मगरको जन्म सन् १८९५ डिसेम्बर २९ तारिखमा भारतको हिमाञ्चल प्रदेश काँगडा किल्ला धर्मशाला छावनी भाग्सु अन्तर्गत पर्ने धाराखोला गाउँमा भएको थियो । सन् १९०५ मा आएको भूकम्पपछि यिनको परिवार त्यही पारिपट्टिको गाउँ तोतारानी बसाइँ सरेका थिए । सन् १९४६ अप्रिल ९ तारिखमा मित्रसेनको तोतारानी गाउँमा देहावसान भयो ।
पुर्ख्यौली थलो
मास्टर मित्रसेन थापा मगरको पुर्ख्यौली गाउँ पश्चिम नेपाल गण्डकी प्रदेशको तत्कालीन बाग्लुङ जिल्लाको राखुपुल्ला गाउँ हो । नेपाल राज्यको सीमा हिमाञ्चल प्रदेशको प्रसिद्ध काँगडा किल्लासम्म पुर्याउन गोर्खाली फौजका साथ मित्रसेनका हजुरबुबा सन् १८०४ मा सेनापति बडाकाजी अमरसिंह थापाको नेतृत्वमा त्यहाँ पुगेका थिए । गोर्खाली फौज तथा इस्ट इन्डिया कम्पनीका व्रिटिश फौजको बीच अप्रिल सन् १८१५मा हिमाञ्चल प्रदेशको मलौनमा घमासान युद्ध भयो । नेपालको राज दरबारबाट थप मद्दत नआई पुग्दा सेनापति अमरसिंह थापा ससम्मान स्वदेश फर्केका थिए । केही गोर्खाली सैनिक त्यहीँ बसोबास गरेका थिए । यिनका हजुरबुबा पनि नेपाल नफकर्ने भएपछि आफ्नै पिता पुर्खाको कर्मभूमि भाग्सु, धर्मशाला छावनीमा मास्टर मित्रसेन थापा मगरको जन्म भयो ।
शिक्षा
मित्रसेनको गाउँबाट स्कुल टाढा हुनाले आठ वर्षको उमेरमा यिनी प्राथमिक तहको स्कुलमा भर्ना भए । यिनले जम्मा आठ कक्षासम्म उर्दू भाषाको माध्यमबाट अध्ययन गरेका थिए । मित्रसेनले सानो उमेरमा बिहे गरे ।
पेशा
मित्रसेन थापा मगरले सानो उमेरमा आफ्नो पुस्तौनी पेसा सैनिक सेवामा प्रवेश गरेका थिए । फर्स्ट गोरखा राइफल सिंग्नल शाखामा सन् १९१२ देखि सन् १९२० सम्म कार्यरत रहेका थिए । यसै अवधिमा उनी युरोप, अफ्रिका, तथा मध्य एशियामा मुलुकहरुमा युद्ध सैनिकको रुपमा काम गरे । गोर्खा भि.सी. कुलवीर थापासँग पनि यिनको भेट भएको थियो । आफ्नो गीत गायनमा उनका बारेमा वर्णन पनि गरेका छन् ।
प्रथम विश्व युद्धको विनाशकारी विध्वंश, हत्या, हिंसा, अस्वाभाविक, असामयिक मृत्यु, तथा वेदनापूर्ण हृदयविदारक युद्धका दृश्यहरु देखेर कोमल, भावुक तथा कवि हृदयका युवा मित्रसेन थापाको मनमा ठूलो आघात र चोट पुग्यो । फलस्वरुप प्रथम विश्व युद्ध समाप्त हुनासाथ स्वेच्छाले सैनिक सेवाबाट त्यागपत्र दिएका थिए । (सन् १९२०)
जीविकोपार्जन
सैनिक सेवाबाट स्वतः राजीनामा गरे जीविकापार्जनका लागि सैनिक क्षेत्रमा किराना पसल खोलेका थिए । मास्टर मित्रसेनको आन्तरिक लक्ष्य तथा भित्री अभिरुचि साहित्य, संस्कृति, सङ्गीत र समाज सेवा थियो । भावुक र कोमल हृदयका मित्रसेनले क्रय–विक्रय र लेनदेनसँग अभ्यस्त हुन सकेनन् । अतः व्यापारमा घाटा परेर सो पसल विक्री गरे ।
सन् १९२१ देखि सन् १९२५ सम्म रङमञ्चीय कला, शास्त्रीय सङ्गीत, साहित्य तथा तत्कालीन सामाजिक सांस्कृतिक समस्याहरुको गहन अध्ययन, मनन र मन्थन गर्न थाले । आफ्नो जीवनको निर्धारित लक्ष्य प्राप्तिका लागि सो बाटोमा साहसका साथ हिँड्न थाले ।
सन् १९२६ मा हिमालयन थियट्रिकल कम्पनीको स्थापना गरे सन् १९२६ देखि सन् १९२८ सम्म हिन्दी, उर्दू भाषामा नाटक लेखेर मञ्चन तथा प्रदर्शन गर्न थाले । केही समयपछि नेपाली भाषामा पनि नाटक लेखन शुरु गरे । यिनीले लेखेका तथा मञ्चन गरेका नाटक त्यस भेगमा ज्यादै जनप्रिय र लोकप्रिय हुन लाग्यो । मित्रसेनको नाम पनि त्यस भेगमा चर्चित हुन गयो । उनलाई मास्टरको उपाधिले पनि सम्मान गरियो । सन् १९२८ मा पंजाब आर्य धर्म सभाले उनलाई सो संस्थाको धर्म प्रचारकको रुपमा काम गर्न आग्रह गरे । सन् १९२८ देखि १९३२ सम्म सो संस्थाको धर्म प्रचारकको रुपमा यिनले काम गरे । पछि त्यो संस्थाले आर्थिक प्रलोभन दिएर काम गर्न आग्रह गरेको थियो तर यिनलाई स्वीकार्य भएन ।
जीवनको लक्ष्य
मास्टर मित्रसेनको जीवनको लक्ष्य तथा आन्तरिक अभिलाषा नेपाली भाषा, साहित्य, संस्कृति, सङ्गीत, रङमञ्चीय कला, तथा गोर्खा समाजको सेवा गर्नु थियो । यो उनले आफ्नो डायरी लेखनमा उल्लेख पनि गरेका छन् ।
सन् १९३३ देखि सन् १९४६ सम्म अर्थात् जीवनको अन्तिम क्षणसम्म नेपाली भाषा, साहित्य, संस्कृति, सङ्गीत, रङमञ्चीय कलाको साधना र सेवा गर्नुका साथै तत्कालीन गोर्खाली समाजको जातीय सुधारमा मास्टर मित्रसेनले आफू र आफ्नो जीवन पूर्ण रुपले अर्पण गरे । आर्य समाज सभाको आर्थिक प्रलोभनले यिनको लक्ष्य तथा उद्देश्यलाई कुनै किसिमबाट विचलित हुन दिएनन् ।
नेपाल भ्रमण
- (क) सन् १९३२ मास्टर मित्रसेन थापा मगर नेपाल प्रवेश गरेर आफ्नो पुर्ख्यौली थलो बाग्लुङ पुगेका थिए । त्यसबेला बाग्लुङ पाल्पा र गुल्मीको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवन र संरचनाको सूक्ष्म अध्ययन मनन एवं अवलोकन गरे ।
- (ख) सन् १९३३ मा उनी फेरि नेपाल प्रवेश गरेर बाग्लुङ, पाल्पा, गुल्मी तथा काठमाडौं पुगे । यस भ्रमण अवधिमा नेपाली लोक संस्कृति, सामाजिक संरचना तथा लोक साहित्यको बारेमा गहिरो ज्ञान आर्जन गरे । समग्रमा उनको निष्कर्ष थियोः ‘नेपाली लोक संस्कृति, लोकगीत र लोकनृत्य अत्यन्त मनोरञ्जक, सन्देशमूलक, सकारात्मक तथा उच्चस्तरका छन् । तैपनि किन काठमाडौं राजदरबारमा तथा ठूला वडाका महलमा हिन्दी र उर्दूका तल्लो स्तरका मनोरञ्जन दिने नृत्य, गीत, नाटक तथा सांस्कृतिक ध्वनि छानिएका छन् ?’
- (ग) सन् १९३५ को अन्ततिर फेरि नेपाल प्रवेश गरे । तत्कालीन नेपाल सरकारको अनुमति लिएर ६ वटा कलाकारका साथ कलकता पुगे । उनले आफैद्व रचना गरेका नाटक “बालभक्त ध्रुव” तथा “द्रौपदी”, “चीरहरण” को ग्रामाफोन डिस्कमा नाटक रेकर्ड गराए । सन् १९३७ नोभेम्बर २४ तारिखमा गोर्खा सेवक संख्या ४५ मा यस नाटकको विज्ञापन पनि भएको छ ।
- (घ) सन् १९३७ मा यी ५ त्रिभुवन शाहदेवको गद्दी आरोहणको रजत समारोहमा भाग्सुबाट सांस्कृतिक टोली लिएर सो समारोहमा सहभागी हुन काठमाडौं आएका थिए ।
- (ङ) सन् १९४४ सेप्टेम्बरको अन्तिम सातामा अन्तिमपटक पाल्पा प्रवेश गरे । पौराणिक कथामा आधारित “रिडी” को विषयमा नाटक लेखेर मञ्चन गरेका थिए । यसरी नेपाली रङ्गमञ्चीय साहित्यमा मित्रसेनको योगदान अविस्मरणीय रहेको छ ।
साहित्य सिर्जना
मास्टर मित्रसेन थापाका सदाबहार गीत गायनहरु ज्यादै लोकप्रिय छन् । विभिन्न रेडियो स्टेशनबाट प्रसारित भएको ग्रामाफोन डिस्क रेकर्ड तथा क्यासेटमा रेकर्ड गरिएको कारणले गर्दा ती गीतहरु चर्चित हुन गएका छन् । अतः मास्टर मित्रसेन थापा केबल गायक, गाइने तथा सङ्गीतकार मात्र हुन् भन्ने धारणा जनमानसमा व्याप्त छ । गीत गायनको आधारमा मात्र उनका मूल्याङ्कन गर्ने गरिएको छ । उनका बहुपक्षीय प्रतिभालाई केवल एक पक्षीय दृष्टिकोणबाट अवलोकन र अध्ययन गर्ने गरिन्छ । आजसम्म उनका साहित्यिक योगदान, साहित्यिक कृति त्यो रचनाहरुको विषय चर्चा परिचर्चा प्रायः सुन्न पाइँदैन । यस विषयमा जानकारी अति कम उपलब्ध छ । वास्तवमा मित्रसेनले सन् १९३३ देखि १९४६ सम्म नेपाली साहित्य अन्तर्गत गद्य, पद्य तथा रङमञ्चीय साहित्यमा दर्जनौं रचना र कृतिहरु तयार गरेका थिए । उनका साहियित्क रचनाहरुलाई सामान्यताः तीन भागमा वर्गीकरण गर्न सकिन्छ :
(क) गद्य विधाः– (निबन्ध, कथा, कथा रुपान्तरण तथा डायरी संस्मरण) (ख) पद्य विधाः– (कविता, गीत, भजन, गजल, कवाली र खण्ड काव्य) (ग) नाटक विधाः– (रङमञ्चीय नाटक तथा रेडियो नाटक)
साहित्यिक र साङ्गीतिक कृतिहरु सङ्ख्या
स्थलगत अध्ययन गरेर अनुसन्धानकर्ता र लेखकहरुले मित्रसेनका साहित्यिक तथा साङ्गीतिक रचना र कृतिहरुको सङ्ख्या खोजतलास गरेका थिए । सो अनुसार फेला परेका जम्मा ११ वटा काव्यात्मक कृति, ९७ वटा गीतमध्ये ३२ वटा ग्रामोफोन डिस्क रेकर्ड गरिएको, १४ वटा हिन्दी उर्दू भाषामा नाटक, ५ वटा नेपाली भाषाका नाटक डिस्क रेकर्ड हालसम्म फेला परेका छन् । ५ वटा कथा, ६ वटा निबन्ध, सन् १९३७ मा शिलांगबाट प्रकाशित “गोर्खा सेवक” पत्रिकामा एउटा लामो लेख “शारदा” पत्रिका २ वटा कविता पनि पत्ता लागेको छ । उक्त सङ्ख्याभन्दा पनि बढी कृतिहरु हुन सक्ने अनुमान गरिएको छ । ती कृतिहरुको खोजी हुनु आवश्यक छ । यी दुवै मुलुकका राष्ट्रिय सम्पदा हुन् ।
प्रकाशन
“मास्टर मित्रसेन साहित्य सङ्गीत सभा” भाग्सु धर्मशालाबाट मित्रसेनका केही कृतिहरु प्रकाशन गरिएका छन् । जुन यस प्रकार छन् ः (१) मित्रसेनको डायरी र केही कविताहरु : (सन् १९८९) (२) मित्रसेनको डायरी : (सन् १९९४) (३) बुद्धवाणी : (सन् १९९६) (दोस्रो संस्करण) (४) कृष्णजन्म : (सन् १९९७)
पाण्डुलिपि
सैनिक सेवाबाट स्वेच्छिक अवकासपछि मित्रसेनको आर्थिक आम्दानीको स्थायी स्रोत थिएन । व्यापारमा पनि घाटामा गयो । बाबुबाजेले पनि कुनै खास घर जग्गा जोड्न सकेका थिएनन् । भाग्सु धर्मशाला, दुर्गमक्षेत्र भएकोले मुद्रण प्रकाशनको त्यहाँ सुविधा थिएन । स्थानीय गोर्खा समाजमा कुनै प्रकाशन संस्था पनि थिएन । यी सबै कारणले गर्दा मित्रसेनका अधिकांश साहित्यिक कृति र रचनाहरु पाण्डुलिपि अवस्थामा रहने बाध्यता भएको देखिन्छ ।
आज पनि मित्रसेनका चर्चित गीत र भजनहरुको क्यासेट र युट्यूबमा उत्पादन गर्ने क्रम जारी छ तर उनका साहित्यिक रचना तथा कृतिहरुको सम्पादन र प्रकाशन गर्नेबारे सरोकारवाला संस्थाहरु प्रायः मौन छन् । यसै कारणले गर्दा मित्रसेनको नेपाली साङ्गीतिक परम्परामा निकै चर्चा परिचर्चा हुन्छ तर रङमञ्चीय कला र साहित्यमा गरिएको योगदान बारेमा प्रायः धेरै कम कुरा सुनिन्छ ।
नाटक विधा
सैनिक सेवा परित्याग गरेपछि मास्टर मित्रसेन थापा मगरले रङमञ्चीय कला, नाटक, तथा रेडियो नाटकका माध्यमबाट नेपाली भाषा, साहित्य तथा संस्कृतिको साधनामा प्रवेश गरे । यिनका नाटकहरु अधिकांश हिन्दू धर्म दर्शन, सैद्धान्तिक धारणा तथा पौराणिक कथामा आधारित थिए । बोधगम्य भाषाले गर्दा यिनले रचना गरेका नाटकहरुले दर्शक र पाठकहरु अत्यन्त आनन्द र मनोरञ्जनको अनुभूति गर्दथे । नाटकमा कतै कतै व्यङ्ग्य मिश्रित संवादले पाठकहरुमा हास्य र उपहासको वातावरण सिर्जना गर्थे ।
यिनका नाटकहरुले बालक, तथा युवाहरुमा नयाँ चेतनाका साथै अघि बढ्ने प्रेरणा तथा प्रोत्साहनको अनुभव गर्दथे । प्रौढहरुमा भक्तिभाव, सहनशीलता, संयम तथा महिला वर्गमा जागरण, साहस र आत्मविश्वासको भावना अनुभव गर्दथे । समग्रमा समाजका हरेक वर्गका लागि यिनका नाटकले केही न केही विचारात्मक तथा प्रेरणात्मक सामग्री प्रस्तुत गरेको पाइन्छ ।
तत्कालीन भारतीय गोर्खाली समाजमा व्याप्त सामाजिक कुरीतिहरु जस्तै बालविवाह, बेमेल विवाह, बहुविवाह, नारी उत्पीडन, दुर्ब्यसन, रक्सी, जुवा, तास, आदिबाट समाज ग्रस्त तथा पीडित थियो । त्यो सामाजिक विसङ्गति तथा विकृतिहरुलाई रङमञ्चीय कला, नाटक र गीत गायनका माध्यमबाट क्रमशः हटाउन यिनले निरन्तर प्रयास गरे ।
यिनीका चर्चित नाटकहरुमा (१) बालभक्त धुव्र, (२) द्रौपदी चीरहरण (३) श्री स्वास्थानी व्रत कथा (४) कृष्ण सुदामा तथा (५) सत्यवान् सावित्री, ग्रामोफोन डिस्क रेकर्डमा छन् । उनका पाण्डुलिपिका रुपमा रहेको नाटक “कृष्ण जन्म” सन् १९९६ मा मित्रसेन साहित्य सङ्गीत सभाद्वारा प्रकाशन गरिएको छ ।
मास्टर मित्रसेन थापाको पहिलो रेडियो नाटक “बालभक्त ध्रुव” हो । सन् १९३६ मा “गोर्खा सेवक” मा यस नाटकको विषयमा विज्ञापन पनि भएको छ । यसरी “मित्रसेन आधुनिक नाट्य क्षेत्रका नाटककारका साथै नेपाली भाषामा पहिलो रेडियो नाटक निर्माता पनि हुन् ।”
मास्टर मित्रसेन द्वारा ग्रामोफोन डिस्क रेकर्ड गराइएको ध्वनि नाटक “बालभक्त ध्रुव”, “सत्यवादी महाराज हरिश्चन्द्र” तथा रङ्गमञ्चमा प्रस्तुत गरेका नाटक “प्रभुभक्ति”, “कृष्णजन्म” को विश्लेषण गर्दा यिनीहरुमा सरल, स्पष्ट, सार्थक, तथा बोधगम्य शैलीमा लेखिएका संवादहरु छन् । नाटकको कथा वस्तु, संवाद, चरित्र–चित्रण, गीत–सङ्गीतका प्रयोग केवल उच्च स्तरीय साहित्यिक दृष्टिभन्दा पनि लोक रुचि, लोक भावना तथा श्रोताहरुको बौद्धिक एवं शैक्षिक स्तरले आत्मसात गर्ने क्षमताले रचना गरिएको छ ।
मास्टर मित्रसेनले हिन्दी उर्दू मिश्रित भाषामा पनि नाटकहरु लेखेका थिए । सन् १९२७ मा लेखेका हिन्दुस्तानी भाषाका नाटकहरु हुन् : विल्वामङ्गल, नूरकी पुतली, युद्धकी बेटी, बादशाह टावर, दर्दे जिगर, महशहूरकी हूर, र परिवर्तन आदि । मित्रसेनको व्यक्तित्वमा एक नाटककार, नाटक लेखक, निर्देशक, अभिनेता, चित्रकार, सङ्गीतकार र व्यवस्थापकको गुण समाहित भएकोले उनले प्रदर्शन गरेका नाटकहरुले त्यस समयमा अभूतपूर्व ख्याति प्राप्त गरेका थिए । हिन्दी रङ्गमञ्चीय कलाको विकासमा पनि मित्रसेनको अभूतपूर्व योगदान रहेको छ ।
निबन्ध
मास्टर मित्रसेन थापा मगरले सन् १९४० मा पहिलो निबन्ध सङ्ग्रह “हितको कुरा” लेखी तयार पारेका थिए । त्यस निबन्ध सङ्ग्रहलाई नेपाल राज्य भित्र प्रचार प्रसार गर्न तत्कालीन नेपाल सरकारसँग अनुमति पनि मागेका थिए । “हितको कुरा”मा तीनवटा लेखहरु “कृतज्ञता”, “अभियान निषेध” तथा “प्रेम” शीर्षकका लेख समावेश गरिएको छ । लेखहरु साना साना भए पनि सन्देशमूलक छन् ।
दोस्रो निबन्ध पुस्तकको नाम हो “उन्नतिको साँचो” (सन् १९४४) । यस निबन्धमा सङ्ग्रह दुईवटा मात्र सानासाना लेख समावेश गरिएको छ । “सुशीलता” तथा “समयको उपयोगिता” । यिनीको तेस्रो निबन्ध सङ्ग्रह “गहिरो खोज” हो । (सन् १९४४) यिनको चौथो निबन्ध पश्चिम नेपालको रिडी भन्ने ठाउँको नामको व्याख्या गरिएको “भूगोल रिडी” शीर्षकबाट सन् १९४४ अक्टूबर २० तारिखमा लेखेका थिए ।
मास्टर मित्रसेनका निबन्धहरु प्रायः वर्णनात्मक रोचक, सन्देशमूल तथा मनोरञ्जक छन् । कतै कतै व्यङ्ग्य तथा अलङ्कारको प्रयोग गरेर निबन्धलाई ओजपूर्ण बनाउने प्रयास पनि गरिएको छ । रोचक शैली, सरल भाषा, सारगर्वित विचार धाराका अभिव्यक्ति दिने निबन्ध धर्म उपदेश, धार्मिक नीतिहरु, नैतिक शिक्षा, तथा युवाहरुको बहुमुखी उन्नतिका लागि मार्गदर्शन र चरित्र निर्माणका विषयहरुमा आधारित छन् । कुनै कुनै निबन्धमा नेपालको ऐतिहासिक घटनाहरु पनि उदाहरणका रुपमा उल्लेख गरिएको छ । यसरी मित्रसेनले नेपाली निबन्ध विधामा आफ्नो दक्षता र प्रतिभाको प्रर्दशन गरेको पाइन्छ ।
कथा रुपान्तरण
मास्टर मित्रसेन थापा मगरले विश्व प्रसिद्ध रुसी साहित्यकार महात्मा टाल्स्टायको कथा “तीर्थ यात्रा” तथा “तीन कुरा” कथाहरुको रुपान्तरण गद्य शैलीमा गरेका थिए । “तीर्थ यात्रा” कथामा तानसिङ (तानसेन) को मगर गाउँ र “तीन कुरा” मा “हाँडी गाउँ” चन्डोल भन्ने ठाउँमा वीरे दमाई “कथा रुपान्तरण शुरुवात गरेका छन् । यसरी त्यस बेलाको सामाजिक परिवेशमा समाजको तल्लो वर्गलाई कथाको नायक बनाउने प्रयास मित्रसेनबाट नेपाली कथा साहित्यका शुरु भएको भन्न सकिन्छ । यसरी नेपाली सामाजिक परिवेशमा टल्स्टायको कथा रुपान्तरण गरेर आफ्नो क्षमताको परिचय दिएका छन् ।
नेपाली गद्य साहित्यका मित्रसेनको ऐतिहासिक योगदान देखिन्छ । यिनले रचना गरेका कथाहरु “तीर्थयात्रा”, “धर्मछोरा”, “प्रेम भगवान्”, “तीनकुरा”, “तीन योगी”, आदिले नेपाली कथा साहित्यको प्रबर्धन एवं संबर्धनमा अद्वितीय योगदान पुराएको छ । निबन्ध सङ्ग्रहमा “हितको कुरा”, “गहिरो खोज”, “उन्नतिको साँचो”, “कृतज्ञता”, “मित्रको डायरी”, आदि कृतिहरु नेपाली निबन्ध साहित्यका निधि हुन् ।
बुद्धवाणी
सन् १९४२ मा नेपाली भाषामा “बुद्धवाणी” को उल्था गरेका थिए । यस पुस्तकमा जम्मा ३० हजार शब्द छन् । जम्मा आठ कक्षासम्म अध्ययन गरेका मित्रसेनले भगवान् बुद्धको दर्शन, अमृत वचन तथा उपदेशलाई अत्यन्त बोधगम्य भाषामा भावानुवाद गरेर आफ्नो बौद्धिक क्षमताको परिचय दिएका छन् । उदाहरणका लागि “तृष्णा” को विषयमा यसरी व्याख्या गर्दछन्ः “मानिसको “तृष्णा” फर्सीको बेला लहरा झैं बढ्दै जान्छ ।”
मित्रको डायरी
बहुप्रतिभाशाली मास्टर मित्रसेन थापा मगरले आफ्नो जीवन यात्राको संस्मरणहरु क्रमबद्ध ढङ्गले लेखेर नेपाली साहित्यमा नयाँ आयाम थपेका थिए । सन् १९४४ जुलाई १३ तारिख देखि सन् १९४४ अप्रिल ९ तारीखसम्मको जीवन यात्राको विवरण अत्यन्त सजीव र सरल ढङ्गमा मित्रको डायरीमा उल्लेख गरिएको छ । यस डायरीको आकार सानो भए पनि उनको मार्मिक भावना, उद्गार, घटना तथा संस्मरणहरुले पाठकहरुको मन छुने गर्दछ । अत्यन्त हृदयस्पर्शी संस्मरणहरुको विवरणहरुको सँगालो यस डायरीमा समावेश छ ।
मित्रसेनले आफ्नो डायरीमा एक ठाउँमा आफ्नो आन्तरिक इच्छा यसरी उल्लेख गरेका छन्ः “जाति सेवाले तप र त्यागको माग गर्दछ तर यसभित्र एक अजीव किसिमको आनन्द पनि छ । ”
हास्यरस
मास्टर मित्रसेन थापा मगर अत्यन्त गम्भीर स्वभावका साहित्यकार, सङ्गीतकार र कलाकार थिए । तैपनि उनको गीत गायन र नाटकहरुमा नाटकीय सङ्केत, प्रचलिन उखान टुक्का र चलन चल्तीका भाषा शब्दहरुको प्रयोग गरेर श्रोता, दर्शक र पाठकहरुलाई पेट मिची मिची हँसाउन उनी कुशल हास्यरसका साहित्यकार थिए । तत्कालीन गोर्खाली समाजको सामाजिक विषमता र विसङ्गतिहरुमाथि गाउँघरको प्रचलित भाषामा व्यङ्ग्य र उपहास गर्न यिनी सिपालु थिए । गाउँघरको शैक्षिक स्तर अनुसारको भाषा प्रयोग गर्दा यिनको आलोचना पनि हुने गर्दथ्यो । सामाजिक परिवर्तन तथा सामाजिक सुधारका लागि यिनले आफ्नो सिर्जना र कृतिहरुमा हास्यरसका व्यङ्ग्य, उपहास र कटाक्षको प्रयोग पनि गरेर ध्यानार्कषण गर्ने प्रयास गरेका छन् ।
खण्डकाव्य
माष्टर मित्रसेन थापा मगरका विभिन्न साहित्यिक कृति र रचनाहरुको अवलोकन गर्दा उनी ज्यादै अध्ययनशील साहित्यकार थिए भनेर ज्ञात हुन्छ । जीवनको अल्प आयुमा (२०/२५ वर्ष) हिन्दू धर्मशास्त्र, बौद्धधर्म दर्शन, टाल्स्टायका कथाहरु र नेपालको इतिहास आदिको सूक्ष्म अध्ययन गरेका थिए । नेपाली भाषामा नेपाली सामाजिक परिवेश र नेपाली पारामा सरल र सहज भाषाको माध्यमबाट पौराणिक धर्मग्रन्थ जस्तो गीताका कतिपय अध्याय, रामायणको केही खण्डहरु तथा महाभारतका पर्वहरुको भावानुवाद, उल्था, तथा अनुवाद गरेर आफ्नो विलक्षण साहित्यिक प्रतिभा र दक्षताको परिचय दिन मित्रसेन समर्थ र सक्षम भएका थिए । समाजमा नैतिक तथा सामाजिक मूल्य मान्यता घट्दै गएकाले सोलाई पुनः जीवित राख्न उनले खण्डकाव्य लेखेर समाजमा जागरण चेतना तथा सुसङ्गठित गर्ने प्रयास गरेका थिए ।
तत्कालीन गोर्खाली युवाहरुमा चरित्र निर्माण अदम्य उत्साह तथा समुन्नतिको भावना सिर्जना गर्न चरित्र कथाहरुका आधारमा खण्डकाव्यका रचना गरेका थिए । महाभारतका पर्वहरुः जस्तो आदिपर्व (सन् १९३५) उद्योगपर्व (सन् १९४०) भक्त प्रह्लाद (सन् १९४९) भीष्मपर्व (सन् १९४०) विराट पर्व (सन् १९४०) वीर अभिमन्यू (सन् १९४०) चन्द्रहास (सन् १९४४) तीन कुरा (सन् १९४४) तीर्थयात्रा (सन् १९४४) सत्यनारायण व्रतकथा (सन् १९४४) सभापर्व (सन् १९४४) एकादशी व्रतकथा, परशुराम लक्ष्मण संवाद आदि रचना र कृतिहरु लेखेका थिए । सन् १९३५ मा अन्दाजी पाँच सय पङ्क्तिमा ‘गीता ज्ञान’ लाई त्यस समयको सामाजिक परिवेश र सामाजिक स्थिति अनुरुप रुपान्तरण गरेका थिए । बोधगम्य नेपाली भाषामा गीत र सङ्गीतको माध्यमबाट श्रोता र पाठकहरुलाई गीताको ज्ञान सम्झाउन नेपाली साहित्यमा पहिलो प्रयास र प्रयोग मित्रसेनले गरेका हुन् । उदाहरणका लागि भागवत गीताका मूल श्लोक “कर्मण्येवाधिकारस्ते फलेषुकदायने” को रुपान्तरण उनले यसरी गरेका छन्–“फलको इच्छा दिलमा नराखी, निष्काम कर्म गर्दै जाऊ, दीन हीन भई माग्नुभन्दा दानी बनेर बढ्दै जाऊ ।”
गीत गायन
बाल्यकालदेखि नै मास्टर मित्रसेन थापाको गीत, गायन तथा सङ्गीतप्रति अत्यधिक लगाव र झुकाव थियो । सानो उमेरमा गीत, भजन र कीर्तन गर्ने सुन्न तथा गाउनमा उनी चाख राख्थे । उनको घरमा गीत गायन र भजन कीर्तनको वातावरण पनि थियो । सुषुप्त अवस्थाको शोखले सन् १९३२ देखि अलि गहिरो रुप धारण गर्न थाल्यो । जीवनको अन्तिम क्षणसम्म गीत, सङ्गीत र गायनका साथ हारमोनियमसँग उनको तादात्मक एवं रागात्मक सम्बन्ध एवं सम्पर्क रही रह्यो ।
मित्रसेन आफ्नो गीत, गायन आफै कोर्ने र लेख्ने, आफैँ गीतको धुन निर्माण गर्ने र तयार गर्ने, आफै सुरिलो र मधुर स्वरमा गीतको गायन गर्ने गर्दथे । उनी सङ्गीतप्रेमीहरुमा अत्यन्त लोकप्रिय गायक बन्न पुगे । उनका कर्णप्रिय कलात्मक गीतहरुका ग्रामाफोन डिस्क रेकर्ड प्रत्येक सङ्गीतप्रेमीहरुको घरदैलोमा पुग्न थालेको थियो । मास्टर मित्रसेनले नेपाली भाषामा गीत गायन सुरु गर्दा स्वदेश र प्रवासमा नेपाली गीत गाउने र सुन्ने चलन तुलनात्मक रुपमा ज्यादै कम थियो । साथै गीतकारहरुले केही सीमित ठाउँमा सीमित श्रोताहरुको माझमा मात्र गीत गाउने चलन थियो । मास्टर मित्रसेन पहिलो सङ्गीतकार हुन्, जसले नेपाली लोक भाषामा, नेपाली पारामा तथा नेपाली सामाजिक परिवेशमा नेपाली गीत गाउने चलन सुरु गरेका थिए । नेपाली गीत गायनको सीमित घेरा चुँडाएर स्वदेश र प्रवासमा सङ्गीत प्रेमीहरुको घर दैलो सम्म नेपाली गीत पुर्याएका हुन् । एकजना नेपाली सङ्गीतकारको भनाइ छ, “नेपाली सुगम सङ्गीत, आधुनिक गीत, तथा लोक गीतको उद्भव र प्रारम्भ पहिल्याउन मास्टर मित्रसेनको पाठशालाको ढोकासम्म पुग्नै पर्छ ।” वास्तवमा उनले नेपाली सुगम सङ्गीत, लोक गीत र आधुनिक गीत बीच अत्यन्त कुशलता सामञ्जस्यता, समन्वय तथा तादात्म्यता स्थापित गरेर नेपाली गीतमा आर्कषण भरेका थिए ।
उनले सुगम सङ्गीत तथा लोकगीतको, मिलान तथा मिश्रण गरेर नेपाली गीत र गायनलाई अत्यन्त स्वादिलो, आकर्षक तथा मनोरञ्जन बनाउने मित्रसेन पहिलो गायक, कलाकार तथा सर्जक हुन् । सरल, सहज भाषा, भावुकता, सकारात्मक सन्देशका साथै समाजमा प्रचलित थेगोहरुको प्रयोग गरेर तथा कलात्मक अभिव्यक्तिले भरिएको गीतहरु अत्यन्त लोकप्रिय र जनप्रिय भएको पाइन्छ ।
मास्टर मित्रसेनका गीतलाई प्रसिद्ध सङ्गीतकार शम्भुजीत बाँस्कोटाले चलचित्र “प्रेमपिण्ड” मा र गोपाल योञ्जनले “कान्छी” चलचित्रमा प्रयोग गरेका छन् । दुवै चलचित्र अत्यन्त लोकप्रिय रहेको छ । यसले प्रमाणित गर्दछ कि पछिल्लो पुस्ताका श्रोतादेखि नयाँ पुस्तासम्ममा मित्रसेनका गीतहरु चर्चित, लोकप्रिय र सबैले रुचाउने गर्छन् । यी सबै तथ्यको आधारमा भन्न सकिन्छ–‘नेपाली सङ्गीतका भानुभक्त मास्टर मित्रसेन थापा हुन् ।’
समाज सुधार
मास्टर मित्रसेन थापा मगर भारतमा जन्मेका दोस्रो पुस्ताका डायस्पोरा हुन् । तत्कालीन भारतीय गोर्खाली समाजको सामाजिक एवं सांस्कृतिक मूल्यमा मान्यता तथा नैतिक उत्तर–दायित्व तुलनात्मक रुपमा क्रमशः केही कमी भएको आभास भइराखेको थियो । भारतीय गोर्खाली समाज विस्तारै विस्तारै सामाजिक र सांस्कृतिक विघटनको अवस्थामा पुग्न लागेको दृष्टिगत हुन थालेको थियो । गोर्खाली जातीय पहिचान र जातीय स्वरुपमा केही विसङ्गतिको झझल्को देखा पर्न सुरु भइसकेको थियो ।
अतः समाजलाई पुनर्सङ्गठित, एकबद्ध, जागरुक, सामाजिक विसङ्गतिहरुलाई उन्मूलन वा निर्मूल पार्न तथा गोर्खाली समाजको पहिचानलाई अझ दरो पार्न मास्टर मित्रसेनले जीवनको उत्तरार्धदेखि पूर्ण रुपमा जीवनको अन्तिम समयसम्म समर्पित भए । यसरी साहित्य र सङ्गीतको साधनाभन्दा पनि गोर्खाली समाजको सुधारलाई अत्यधिक महत्व दिएको देखियो ।
समाज सुधारलाई संस्थात्मक स्वरुप प्रदान गर्न सन् १९१६ देखि हिमाञ्चल तथा पंजाव गोर्खा एशोसिएशनका आजीवन सदस्यता ग्रहण गरे । सन् १९३८ मा “गोर्खाली सुधार सभा” देहरादुनका संस्थापक सदस्य भए । सन् १९४४ मा “गोर्खा सत्संग प्रचारणी सभा” भाग्सुको स्थापना गरे । भारतको विभिन्न शहरमा (जहाँ गोर्खालीका घना वस्ती छ), गोर्खा सत्संग सभा गठन र स्थापना गर्दै हिँडे । “जय गोरख” “जय गोर्खा” एकता र पहिचानको प्रतीक शब्द मित्रसेनको उपज हो । यसरी जातीय सुधार र जातीय पहिचानको क्षेत्रमा मित्रसेनको योगदान ऐतिहासिक तथा अविस्मरणीय छ । आज पनि ढोगभेट सत्सङ्ग भाग्सुमा लोकप्रिय छ ।
विद्यावारिधि
त्रिभुवन विश्वविद्यालयबाट डा. खगेन शर्माले वि.सं. २०५६ मा र भारतको कुरुक्षेत्र विश्वविश्लयबाट डा. राजेन्द्र गुरुङले सन् २००१ मा विद्यावारिधि गरेका छन् । एकजना साहित्यकारका योगदानमा दुई देशका विश्वविद्यालयले विद्यावारिधि प्रदान गर्नु प्रशंसनीय मानिन्छ ।
हुलाक टिकट
मास्टर मित्रसेनले नेपाली भाषा, गीत, सङ्गीत, साहित्यको विकासमा प्रवास (भारत) मा बसेर दिएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल सरकाले वि.सं. २०५६ मा हुलाक टिकट प्रकाशन गर्यो । त्यस्तै सन् २००१ मा भारत सरकारको डाँक टिकट विभागले उनको नाममा हुलाक टिकट प्रकाशन ग¥यो । एकजना व्यक्तिका दुई मुलुकले हुलाक टिकट प्रकाशन गर्नु ठूलो कुरा हो ।
निचोड
बहुप्रतिभा सम्पन्न मास्टर मित्रसेन थापा मगर नेपाली भाषामा महान साहित्यकार तथा स्रष्टा हुन् । गद्य, पद्य, नाटक, रङमञ्चीय कला, सङ्गीत, लोकसंस्कृति तथा समाज सुधारको क्षेत्रमा आफ्नो अद्भूत प्रतिभा र क्षमताको प्रर्दशन गर्दै अभूतपूर्व योगदान प्रदान गरेका थिए ।
तत्कालीन नेपाली समाजमा घट्दै गएको सामाजिक मूल्य मान्यतालाई जोगाउन नेपाली सामाजिक, सांस्कृतिक परम्परा, पहिरन भेषभूषा, गीत, सङ्गीत, कला, भाषा, साहित्यलाई स्वदेश र प्रवासमा घरदैलोमा पुर्याउन तथा जनचेतना जगाउन मानसिक रुपले समाजलाई तयार पार्न यिनीले आफ्नो साहित्य सिर्जना र गीत गायनको माध्यमलाई अत्यन्त प्रभावकारी रुपमा प्रयोग गर्न सफल भएका थिए ।
मित्रसेन अमर साहित्यकार हुन् । उनी अमर गायक हुन् । अमर समाज सुधारक हुन् । उनका जीवनयात्रा, उनका जीवन सङ्घर्ष, रचना र कृतिहरु युवावर्गलाई प्रेरणा, प्रोत्साहन, पथ प्रर्दशक र बाटो देखाउने धुव्रतारा हुन् ।
........................................................................................
- नोट - कवि, नाटककार, निबन्धकार, गीतकार, गायक तथा सङ्गीतकार मास्टर मित्रसेन (मित्रसेन थापा मगर) को यो परिचय विक्रम सम्बत् २०७८ पुष ३ गते १६:३८ मा wenepali dot com मा प्रकाशित भएको श्री त्रिलोक सिंह थापा मगरद्वारा लिखित वृहद् आलेख जस्ताको तस्तै साभार यहाँ साभार राखेका छौँ । यसको कविराइटका कारण यहाँ राख्न नमिल्ने हो भने प्रतिलिपी अधिकार प्राप्त व्यक्ति वा निकायबाट kavitakosh@gmail.com सूचित गर्न हुन अनुरोध गर्दछौँ । त्यसरी सूचित भइआएमा यस आलेखलाई यहाँबाट अविलम्ब झिकिने छ ।
कविताकोश टीम