कन्ट्रयास्ट : एक गीत / मनप्रसाद सुब्बा
१. सबै कौमार्य लुटाएर
बाँझो र फुस्रो मेरो धरती यो
जसको तर एक सानो टुक्रा कतै टाढामा आजभोलि
जिजीविषाहरू मेरा जीवन्त पार्दै
हरियो नीलो गुलाबी रङ्गले भिजेर
झुन्डिरहन्छ जीवन्त सौन्दर्य यी आँखाअघि आजभोलि
अलिकति रहर पलाएर पैतालामा
आज एक छेउ छचल्कियो हिउँ जमेको मेरो पोखरी !
हुन त त्यो क्षितिज मात्र हो – जान्दछु
पाइलाहरू तर कुन्नि किन स्वतः हिँड्दैछन्..
नपुग्ने नै हुन् तर आँखाहरू स्वतः क्षितिज पछ्याइरहन्छन्
कहिल्यै नथाकेर !
तर पख,
यी पाइलाहरूलाई हिँड्न दिऊँ अनियन्त्रित
आखिर यात्रा न हो
नथाकेर हिँडिरहनु यिनीहरूको धर्म हो
हेर्न दिऊँ यी आँखाहरूलाई केहीले नछेकेर
किनकि त्यो क्षितिज त क्षितिजै मात्र कहाँ हो र !
वास्तविकता र भावनाको सुन्दर सम्मिलन पनि हो ।
त्यस क्षितिजको अघिपछि
लुकामारी खेल्ने बादललाई हेरेर
के हो भनी कसैलाई नसोध्नू,
त्यो मेरो तातो उच्छवास हो
जल्दो छातीभित्रबाट निस्किरहेको।
त्यही क्षितिजको शिरमाथि-माथि
एकोहोरो उडिरहने काकाकुललाई पनि
तिमी केही नभन्नू,
त्यो मेरो विव्हल हृदय हो
जो नैराश्यले पनि नथाकेर
हावा काटी काटी उडिरहन्छ
कहिले भने उपहासले खरानी हुँदै
त्यही खरानीबाट त्यो, फिनिक्स उठिरहन्छ।
२. नभेटेर पनि भेट्न खोजिरहनु,
यो कत्रो विव्हलता !
नपुगेर पनि पुग्न खोजिरहनु,
यो कस्तो अभीप्सा !!
यसलाई तर अर्थहीन पनि नभन्नू
र केही क्षण तिमी शान्त बुद्धलाई बिर्सिदेऊ
अनि हेर
त्यहाँ जियालो जिन्दगीको धर्म छ।
नपुगेर पनि अविराम हिँडिरहनु
मेरो जीवन हुनु देख्छु
टाढा त्यो एक टुक्रा सौन्दर्यको क्षितिजले
मेरा पाउहरूमा गति थपिरहोस् चाहन्छु...
३. ओहो ! पीर पनि कोही त जिब्रोभरि खेलाइरहूँ लाग्दोरहेछ
जलन पनि कोही त पोलिँदै बसिरहूँ हुँदोरहेछ
तिमी केही नभन
म पीरको स्वाद मीठो चाटिरहन्छु
जीउभरि आगोले पनि शितल भिजिरहन्छु
मलाई पीरभित्रको खुशी छामिरहन देऊ
मलाई आगोभित्रको पानी उघाइरहन देऊ
दुरत्वले हुर्काएको सामीप्य समाइरहन देऊ
आखिर यात्रा न हो
मलाई यत्तिकै हिँड्न देऊ
४. होहल्लाको खाल्डोदेखि तटस्थ उभेको मेरो मौनतालाई सुन
केही रहरले भिजेको त्यहाँ उद्गार छ
मौनतामा स्वर छ, आँखाको नानीले सुन
निस्सारताहरूको अस्वीकारबीच पनि
यो जिन्दगीलाई
फेरि एक पटक स्वीकार छ।
मेरो चाम्रो अनुहार अब छामिहेर
उम्रेर लय लहर लहर
त्यहाँ एक कोमल कविता पनि छ
जिन्दगीकै पैह्रो पैह्रोमा बगेका
खोल्सा खोल्साका लय टिपिएर
यो चाम्रो अनुहारमा एक कोमल कविता छ
तिमी आँखाले छामेर थाह गर।
५. यो सिङ्गो मरुभूमि आजभोलि
एक सानो चौटाभरि टाढामा
सिम्सार भिजिरहन्छ छिपछिप
जिजीविषाहरू मेरा जीवन्त पार्दै
केही माधुर्यहरू पनि फुलाएर
सुकेर शिशा भएको आँखा पनि रसाइरहन्छ आजभोलि !
हुन त त्यो क्षितिज मात्र हो जान्दछु
तर थोत्रिएको पुरानो याक्सा पछाडि नै छोडेर
यी पाइलाहरू स्वतः बढ्दैछन्...
व्यर्थको हिँडाइ नभन्नू
टाढै उभेर तिमी हेरिरहू।
गोड़ा कुंज्याएर पुरानो याक्सा रुङ्दै बसेर पनि
खोइ के पो हुने रहेछ र !
मायाले मृतकसितै सुतिरहेर पनि के हुने हो र
फेरि हिँड्दै गरेका ती पाइलाहरू
क्षितिज नपुग्दैमा केही हुने होइन
जब कि गोडाहरू कुंज्याउँदै थोत्रो याक्सामा
ओत लागेर पनि केही नहुने नै भएपछि।
नथाकेर गइरहेका ती पाइलाहरू
साह्रै थाके बस्लान् कतै नौलो याक्सा उभ्याएर
अनि छेउमा यात्राको निशानी
यौटा माइलखुट्टी पनि ठड्याएर ।
ती बगिरहेका पदचापहरू तिमी चुपचाप सुन्नू
त्यहाँ जीवनको ताजा गीत छ
ती रसिँदै गएका आँखाहरूमा पनि हेर्नू
टल्किँदो तरङ्गिँदो तातो सास छ
निस्सारताहरूको अस्वीकारबीच पनि
यो जिन्दगीलाई
फेरि एक पटक स्वीकार छ !