विचारको ढाड / शकुन्तला जोशी
त्यसपछि मलाई कहिल्यै मन परेनन्
विचारलाई नुहाएर
सुलिसजस्तो दोब्रिने मान्छेहरू
ती जो छन् आफैंलाई मिसाएर पानीमा
नदीजस्तै बगिरहेका मान्छेहरू
ती जो छन् आफैंलाई मुछेर पसिनामा
माटोजस्तै बाँचिरहेका मान्छेहरू
जब हाँस्छन् निष्पि्कक्री उज्यालो छरेर अनुहारभरी
त्यसपछि मलाई कहिल्यै मन परेनन्
विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू
सरकारले भर्खरै झुण्ड्यायो
नानीहरूका नाममा एउटा शैक्षिक ब्यानर
त्यस मुन्तिर
स्कूल देख्न नपाएर रोइरहेको एउटा बालक
चुरोटको खोलमा टाँसिएका अक्षरहरू
धुलौटे हातले सुम्सुम्याउँछ र फिस्स मुस्कुराउँछ
चाङ मिलाएर किताब खाँदिएका ब्याग लतार्दै
स्कूल पुगेका नानीहरू पनि अचेल
किन पढ्छन् किताबभन्दा बढी मास्टरका अनुहार?
किन सोध्नुहुन्छ बा
दुःखको कथा कतै छापिन्छ कि छापिन्न?
किन सोध्नुहुन्छ आमा
आइमाईहरूले पर्खाल नाघ्न हुन्छ कि हुँदैन?
किन च्यात्यो त्यो ठिटोले
मूल बाटोमा उभिएर नागरिकता?
किन फुटाई बहिनीले भित्तामा टाँसेको ऐना?
किन निदाउन सक्दैनन् चैनले अचेल
गाउँका मान्छेहरू?
समयको एउटै धारमा बगिरहेको बेला
जब देख्छु विद्रोहले थर्थराइरहेका अनुहार वस्तीभरि
त्यसपछि कहिल्यै मन परेनन्
विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू।