आफैँभित्र फैलिएर
कतै आफूबाहिर सङ्कुचित
परिवेश, माटो र आँखाहरूमा
भावना, कल्पना र मुटुभित्र
जिन्दगी म बाँचिरहेछ ।
ढुङ्गामा राखेर घनले हिर्काउँदा
त्यति विभत्स नहोला मुटुको दशा
जति
बाँचिरहनुले
बाँचेर पनि नबाँचिरहनुलाई चोइट्याउँदा हुन्छ ।
चोटका चोइटासँगै चर्किरहन्छन् मुस्कानहरू
स्वरविहीन भएर आँखासँगै;
पहिरोजस्तै
खडेरीजस्तै
डडेलोजस्तै;
जहाँ
एउटा जिन्दगीले
म बाँचिरहेको हुन्छ।
बदलिन सक्दैन अनुभव
निष्फल हुन सक्दैन प्राप्ति
देवता नभए ढुङ्गो हुन्छ
खुसी नभए चोट हुन्छ;
केही नभए शून्य हुन्छ ।
शून्यतामा एउटा सुस्केरा गुन्जिरहेको हुन्छ
मौनताले वितण्डा गरिरहेको हुन्छ,
र चहर्याइरहेको हुन्छ समय अनवरत शून्यतामा;
चहर्याइरहेको युगमा
इच्छाहरू भाँचिइरहेका हुन्छन्
रहरहरू फुटिरहेका हुन्छन्
र पोखिएका हुन्छन् असङ्ख्य सपनाहरू।
उठाएर अँजुलीमा
पोखिएका सपनाहरूलाई;
बोकेर प्रलय विचलित हृदयभित्र
लुकाएर कोलाहल हताश चाहनासँगै;
उद्याएर आँखामा हतियार विद्रोहको
शान्त देखिएर मुस्काउन खोज्दै
मौन एउटा जिन्दगीले
म बाँचिरहेको हुन्छ ।