Last modified on 4 दिसम्बर 2020, at 08:41

पाप / फरोग फारुख्जाद / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:41, 4 दिसम्बर 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

न्यानो, तप्त अँगालामा समाहित भएर
असीम आनन्दले भरिपूर्ण एउटा पाप गरेँ मैले।
उन्मत्त, आक्रामक, र इस्पातझैँ वलिष्ठ पाखुरामा बाँधिएर
मैले एउटा पाप गरेँ।

त्यस अँध्यारो, मौन एकान्तमा
मैले रहस्यले भरिएका उनका आँखामा हेरेँ
चाहनाले व्याकुल उनको हेराइको मात लागेर
मेरो मुटु लरखराउँदै
छातीभित्रै बेलगाम धड्कियो।

त्यस अँध्यारो, मौन एकान्तमा
म उनीमै लपक्क टाँसिएँ
उनका ओठले मेरा ओठमा उत्तेजना खन्याए
म मेरो व्याकुल हृदयका तमाम पीडाबाट बाहिरिएँ।
मैले उनका कानमा प्रेमील वाक्यमा साउती गरेँ-
ए!मेरो जीवन, म तिमीबाट छुट्टिन सक्दिनँ
म तिमीबाट अलग्गिन सक्दिनँ, ए!जीवनदायी अँगालो,
ए!मेरो आशक्त प्रेमी!
 
उनका आँखामा आशक्तिको ज्वाला दन्कियो
उनको प्यालाको मदिरा छमछम नाच्न थाल्यो
मखमली ओछ्यानमाथि मदमत्त भएर
मेरो शरीर उनको छातीमाथि मडारियो।
 
बेजोडको मच्याइ र शिथिलताबीच
असीम आनन्दले भरिपूर्ण एउटा पाप गरेँ मैले।
हे ईश्वर, भन्न सक्दिनँ, त्यस अँध्यारो, मौन एकान्तमा
खै मैले के गरेँ !


इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ