तुहिएको अस्तित्व / कुन्दन शर्मा
ए आमा ।
तिमीलाई म के भनूँ ?
तिमी स्वयं कसैकी बाँचेकी छोरी
बस, बुझिदेऊ यो मौन व्यथा
न गुनासो मान
न स्वीकार सम्झ यसलाई
यो त आहत अहं हो मेरो
यहाँ बाँच्नलाई तिम्रो चाहनाको
विश्वास खोज्नुपरेको छ मलाई
आज पुन: चिन्नुपरेको छ तिमीलाई ।
विद्रोह गरी
तिम्रो अपमान गर्न सक्दिनँ
तिमीलाई लाञ्छना लगाउँदा
म नै नाङ्गो भएकी हुन्छु कतै
किनकि हामीले
एउटा साझा अस्तित्व बोकेका छौँ यहाँ ।
ए आमा । म तिम्री छोरी
नढाँटी भन के तिमीले मलाई स्वीकारेकी थियौ त
हर्षका साथ
आफ्नो प्रथम गर्भमा ?
मलाई लाग्छ तिमी चाहेर गर्भवती भएकी थिइनौ
यहाँ यसरी सम्तान जन्माउने
प्रथा नै छैन
यो त केवल परिणाम हुन जान्छ
हाम्रो वासनाको
र पतिका बलात्कार सहँदासहँदै
विक्षिप्त भइसकेका हुन्छन्
धेरैको कुमारी सपना तबसम्म ।
तापनि तिम्रो गर्भमा आएपछि
त्यो सृष्टिको अँध्यारो कोखमा
तिम्रो मुटुको प्रत्येक धुकधुकीले
आफैसित चिन्तामा सोधेको सुनें मैले
'छोरा कि छोरी ?
छोरा कि छोरी ?’
आमा, नढाँटी भन आज
तिमी किन रोएकी थियौ त्यसरी
मेरो जन्ममा ?
ममा आफ्नो कथा दोहोरिने पीडाले
वा, पुत्रमा पाइने संरक्षण ममा गुमाएको भयले
किन झरे ती आँसु तिम्रा
मेरा थाङ्नामा ?
म आत्मग्लानिमा हुर्के त्यसपछि
तिमीमा आफ्नो सम्मान खोज्ने
भूल गरेकी थिएँ मैले ।
अनि, तिमी फेरि गर्भवती भइछौ
तर अल्ट्रासाउन्डको कोठामा
लिङ्गपरीक्षणपछि
गर्भपातको टेबिलसम्म पुग्दा
आमा । तिमी हैन
तिम्रो गर्भ रोएको सुनें मैले
एउटी छोरीले
छोरीकै अस्तित्व तुहाएको देख्दा ।