ताछ्दै ताछ्दै आली
मिचिसकेको छ संधियारले
कैयौं पुस्ताको पसिनाले भिजेको सुनको टुक्राजस्तो खेत
र पनि मौन हुनुहुन्छ आमा
आफुले टिकट काटेको सिटमा
गजधम्म बसेर माडीरहेछ खैनी कसैले
चुपचाप हुनुहुन्छ आमा
सङकटको बेला लगेको सापटी फर्काउनु त कता कता
धम्काएको छ उसले नै
“के छ कागज प्रमाण ?”
अह केही बोल्नु हुन्न आमा
समथर ठाउँको जग्गा देखाएर
भीरको कित्ताको लागि गराएको छ बयानाको कागज कसैले
विना कसुर लगाएको छ आरोप कसैले
तैपनि चुपचाप र शान्त आमा, केही भन्नुहुन्न
बरु सयौं प्रश्नको एउटै उत्तर दिनुहुन्छ सधैंजसो
ईश्वर छन् उनैले हेर्छन्
हो, ईश्वर हेर्छन र बोल्छन् मौन भाषामा !