Last modified on 28 मई 2017, at 16:52

शब्दकोशमा / निमेष निखिल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:52, 28 मई 2017 का अवतरण (Sirjanbindu ने शब्दकोशमा / निमेश निखिल पृष्ठ शब्दकोशमा / निमेष निखिल पर स्थानांतरित किया)

विसङ्गति मात्र फुलेको छ
छैन सङ्गति कुनै हाँगामा
कुविचारको घातक प्रहारले
मृत्युशय्यामा अचेत छ सुविचार
गोत्र फेरेर
शान्ति, सहभाव, सहकाल र सद्भावहरुले
एकपछि अर्का उधुम मच्चाइरहेन्
शब्दकोशका पानाहरुमा ।

विचारको विरोधीलाई
बन्दुक चखाएको भोलिपल्टै
काकाले कालो मसीले केरे
कानुन र न्याय

भाउजूका आँखामा
पहेँलो चमकको छाया देखेसँगै
दाजुले खाल्टै खनेर पुर्यो
इमानलाई
प्रेमिकाको बाबु टाट पल्टेको सुन्ना साथै
भाइले टिपेक्स लगायो
माया र प्रेम शब्दमा हतार हतार

सुवासमाथि दुगन्धले विजय पाएदेखि
चोक चोकमा नमिठो गनाउँछ समय

आर्तनाद गर्छन्
शब्दकोशबाट भागेका राम्रा शब्दहरु
अराजक शब्दहरु
जुधिरहेछन् शब्दकोशकै मैदानभरि

मेरो एउटा भाषाप्रेमी मित्र
आज पनि नभेटिने के के शब्द
खोजिरहेछ शब्दकोशमा ।