भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा आकाशको खोजी / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:52, 1 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह= शोक...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मान्छेलाई समृद्धिको जून फुलेको आकाशमा
आशाका तारा टिल्पिलाएको मन पर्छ
तर आजकल मान्छेमाथिको आकाशमा
काला बादलहरू साम्राज्य बिस्तार गरिरहेछन्।
 
भोक हारेर भागेको कुनै सुदूर लेकजस्तो
अथवा मान्छेले आगो ओकलेकै रात
धराशायी भएको कुनै तानासाहको महल जस्तो
मान्छे पर्खिरहेछ आज पनि
काला बादलको प्रत्यागमन
आफैमाथिको आकाशबाट।
 
सङ्कटग्रस्त विश्वासको मौन जुलुस
आज पनि हिँड्छ गाउँका गोरेटाहरूमा हिजोजस्तै
कोइली र काफल पाक्यो चराहरू
उसैगरी पर्खिरहेछन् मान्छेका पदचाप रनवनमा
चेलीका भाका हड्तालमा रहे झैँ सुनसान छन् वनपाखा
छैनन् कतै प्रीतिका स्वरलहरी
शब्दकोशमा सीमित
शान्ति, समृद्धि र सद्भावजस्ता शब्दको लाम
खै! कहिले निस्कन्छ र हिँड्छ गाउँका सडकमा
पर्खिरहेका छन् मान्छेहरू।
 
असङ्ख्य प्रयोग प्रत्यारोपणबाट थिल्थिलिएको देश
अझै खेप्दै छ―
एकपछि अर्का प्रयोगहरूकै ‘मोन्सान्टो‘* शृङ्खला
देशजस्तो भएर रहन नसकेको देश
मान्छेजस्तो भएर रहन नसकेको देशभित्रको मान्छे
आफ्नै आँगनमा एकसाथ खेपिरहेका छन्―
पीडा निर्वासनको।
 
समृद्धिको जून फुलेको आकाशमा
आशाका तारा टिल्पिलाएको परिदृश्य हेर्न
अझै आतुर छन् मान्छेआँखा
 
बदलामा अझै पनि दृष्टिचेतनाको क्षितिजभरि
आफ्नो साम्राज्य बिस्तार गरिरहेछन्
तिनै काला बादलहरू।