बाटोमा एउटी स्त्री / ज्योति जङ्गल
अघिअघि
कोरेकी हुँदी हो त्यस्ले कपाल
या गाजलले
आँखै छोपेर
मुस्काउँथी होली ऐनासँग,
तमाम सुन्दरीका जस्तै
नछोपिएका स्तनहरु छन्
वर्षौं ननुहाएको
उस्को गन्धले
यो कविता सजाउनु छ
कस्को परिचय हो यो
पत्तो लगाउनु छ ।
कैयौँपल्ट
भोकको डामलाई
मुस्काएर सह्यो उस्को उमेरले
हेर्दाहेर्दै
उस्तै थुप्रै सन्तानहरु जन्माई
र तिनैलाई चिन्न छोडी ।
औँलामा आगो सल्काएर
उज्यालो खोज्नु थियो होला
पीडाको धारले मनमात्र चिरिछ,
जिन्दगी विगार्नेलाई
प्रहार गर्नु पर्थ्यो होला
विद्रोहको घनले
आफ्नै जीवन फोरिछ ।
पसिनाको पोखरीमा डुबाएर
चेतनाको हत्या गराउने
अधिकार कस्को छ हँ ?
उ त,
वेदनाको चुली ठड्याएर
व्यर्थै चट्टान भइछ
बोल्दिन हाँस्दिन
हेरिरहन्छे,
आँखै जुधाउन नसक्नेगरी
जीवनको प्रेम पनि बोक्छे ।
यो कस्तो परिचय हो ?
मान्छेहरु बहुलाही भन्छन् ।
तमाम सुन्दरीका जस्तै
नछोपिएका स्तनहरु छन्
मानौं, ऊ नङ्ग्याइरहेकी छे
यो दुनियाँलाई
या मेरै कवितालाई ?