एउटा योद्धा युद्धपछि सपनामा / ज्योति जङ्गल
युद्धमा होमिनुअघि
पहिलो युद्ध
मैले आफूविरुद्ध गरेको थिएँ,
के कोही मृत्युबोध नगरी
युद्धमा जानसक्छ ?
सर्वप्रथम, मैले मेरो मृत्यु तय गरेको थिए
सिङ्गो युद्ध, मविरुद्ध लडेको थिएँ।
त्यसपछि
थुप्रैपल्ट सजिलै उफ्रिएँ
खोलाको बाढीमाथि
आफूभन्दा गर्हौं
ग्रिनेडको भारी बोकेर
कतिपल्ट आक्रमणको धावा बोले
हुरीजस्तो भएँ
र शत्रुको लासैलास कुदेँ ।
अटाइनअटाई
सास घाँटी फुटाउन खोज्थ्यो
रातो रुमाल मुखमा कोचेर
कति हिँडेँहिँडेँ
अँध्यारामा उकालो जङ्गल ।
युद्धअघि,
म सपना देख्न पनि नसक्ने थिएँ
जीवन हिड्ने अप्ठ्यारो बाटो थियो....
दुर्भाग्य, दशा वा दरिद्रता
या भुगोलको दुरी
मेरा प्रारब्धहरु जो थिए
मलाई भत्काउँदै गए
मलार्इ हराउँदै गए
हरेक पाइला आजित हुदै गएँ म
र मन काटिँदै गयो।
त्यही अन्त्यबाट
एउटा योद्धा सिर्जित थिएँ म,
त्यही पराजयबाट
एउटा बदला निर्मित थिएँ म ।
फेरि, मृत्युमय युद्ध
मलाई जीवन दिएर गएको छ
म एउटा मान्छे,
एउटा नागरिकको जीवन जीउने
सपनाले बेचैन छु।
फरि त्यस्तै,
दरिद्रता, दुर्भाग्य,
दशा वा दासता,
कसैको भाग नलागोस्,
म यतिखेर मेरा सामान्य सपना
केही गाँसहरु
एउटा ओत
एउटा अस्पताल
र घरछेउको अक्षरशालाको
कामनामा छु,
म पुनः मृत्यु तय गरेर
युद्धचक्रमा आत्तिनु नपर्ने
अभिलाषाले सजिएको छु।