मसंग निराश कुरा नगर / विमल गुरुङ
अल्छिलाग्दो धरानको बाकसबाट बीरगंजको बोटमा हामफालें बसको थुनामा कैदी भएर अहिले म काठमाडौंमा आएं ।
ग्राहकहरु अगाडि छन् तौलेर तराजुमा दिनहरु म उपभोक्ताहरुलाई बाँड्दैछु ।
जाडो रहेछ काठमाण्डौमा आज उठेर झ्यालतिर हेर्दा पहेंला किरण देखियो हतार-पतार म छतमा आएँ आज आकाश खुलेको छ सायद आज पनि हिजो जसरी घाम लाग्छ होला मलाई आज खुशी लागेको छ आज आकाश खुलेको छ ।
म अहिले छेउको सेतो कुकुरसंग घाम तापिरहेछु छतमा नीलो स्वीटर लाउने केटा भाईलाई हकारिरहेछ खैरो रंगको सानो कुकुर सागबारीको साग कुल्चंदै चक्कर मारीरहेछ झ्यालभित्र बिद्यार्थिहरु टेबुलमाथि हात चलाइरहेछन् आज आकाश खुलेको छ मलाई आज खुशी लागेको छ आकाशमा हवाइजहाज गीत गाइरहेछ तारमाथि सुकाइएका लुगाहरु सुकिरहेछन् रातो साडी बेरेकी आइमाई कौसीबाट पूर्बतिर हेरिरहेकीछे सायद होला प्लेयरबाट कुसुमे रुमालको प्रेम गीत बजिरहेछ बोरामाथि झिंगा कसरत गरिरहेछ मलाई आज खुशी लागेको छ ।
</poem>