मेरुदण्ड / विक्रम सुब्बा
अनेक अंगहरू जोडजाड गरेर बनेको कंकालमा
उभिएको र हिँडडुल गरिरहेछ एक ज्यान
ज्यान भन्नु आधारभूत अंगमा
मसिना प्रत्यंगहरू टाँगिने थाङ्ग्रा हो मेरुदण्ड !
जमानादेखि मेरुदण्डकै थाङ्ग्रो समाएर
सबै अङ्गहरू दशतिर लम्किरहेछन्
नत्र हातहरुले कहाँ टेक्ने र करङहरू कहाँ खडा हुने ?
छाती कहाँ फल्ने र खुट्टाहरू कहाँ उभिने?
र सबैभन्दा स्वाभिमानी शिर एक्लै कहाँ खडा हुने ?
हरेक अङ्गहरू हैसियत मुताविक
ठाउँ-ठाउँमा तैनाथ भएपछिको रुप त हो शरीर
मेरुदण्ड नभए सब गर्ल्यामगुर्लुम्म डङरङगै चक्नाचुर…!
अनि, मेरुदण्ड नभए कुनै सुन्दरीको जोवन
छाती खोलेर हाँक दिँदै उभिन सक्दैन क्यारे…
र दुनियालाई लोभ्याउँदै हिँड्डुल गर्नै सक्दैन क्यारे…
हिँड्डुल गर्न नसक्नेले कसरी हाकपारा नाच्ने?
सोरठी, घाटु र चुड्काको फन्को कसरी घुम्ने?
नाच्नै नसकेपछि कुन मारुनीले पत्याउला?
मारुनीले पुर्सुन्नेलाई नपत्याएपछि त सृष्टी रोकिन्छ
अझ दिल्लिको मेरुदण्ड हालेर सिंहदरवार कसरी उभिइला?