काठमाण्डूप्रति / सीमा आभास
काठमान्डू छिरेपछि स्वयम्
काठमान्डू बन्न खोज्छ मान्छे ।
चोभार थुनेर पौडिन खोज्छ,
सक्तैन महाराज बन्न खोज्छ, बन्दैन
आफूले थेगेको आकाश हेर्छ, जमिन
हेर्दैन
विक्षिप्त हुन्छ र
काठमान्डूको नाकैमा
उभिएर
गर्छ सत्तोसराप ।
आफ्नो उचाइ नाप्छ
धराहरासँग
रानीपोखरीमा पहिचानको
गहिराइ
खोज्छ
यहाँका साँघुरा गल्लीभन्दा असरल्ल
आफ्नै
सपनाका खोँचमा चेपिएपछि
तथानाम गाली गर्छ।
गाली गर्ने देखेर लाग्छ,
काठमान्डू एउटा कुख्यात
अपराधी हो ?
आफ्नै स्वाभिमानले
उँचो बाँचेको यसले
न कसैलाई बोलाउँछ,
न त किन
आयौ भनेरै सोध्छ
न कसैलाई घोक्र्याउँछ,
न माग्छ कसैसँग भिख,
न रुन्छ
कसैको काखमा घोप्टो परेर ।
गाली गर्नेहरूको
केवल एउटै
ध्याउन्न हुन्छ
पशुपतिकै आशीर्वादले
सिंगो काठमान्डू बन्ने
स्वयम्भूका आँखाभित्र
काठमान्डू
देखिने
आफू दरबार उभिने
सिंहदरबार हुने र सलाम खाने।
काठमान्डू !
टाउकोमा मुड्कीले ठोके पनि चुप
लाग्छ
घनले फुटाउन खोजे पनि बज्र
बन्छ
काखैमा कुल्चिँदा पनि
सहिरहन्छ।
काठमान्डूले अब त
आखा खोले
हुने !
बूढानीलकण्ठलाई उभ्याएर
बिरुपाक्षलाई हिँडाएर
उन्मत्त भैरवलाई नचाएर
कलिलाई जमिनबाट तत्काल
निकालेर
हजार मन्दिरबाट
देवदेवीलाई
खुल्ला मैदानमा डाकेर
काठमान्डूले अकाट्य
प्रतिउत्तर
बोले हुने !
देख्नेहरुले बुझून् !
गालीले भत्किँदैन काठमान्डू
काठमान्डू भत्किन भत्किनुपर्छ
नव–काठमान्डू ।
पराजित ठान्नेहरूले बुझून् !
काठमान्डूको काँध
चढ्दैमा
काठमान्डू बन्न सक्तैन
मान्छे ।