भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

माझीगाउँको हल्ला / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:58, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


नदीमा
ताराहरू डुबेका छन् भन्ने
गाउँभरि हल्ला चलेपछि
ऊ सबेरै
बल्छी बोकेर हिँड्यो ।

उसलाई सबभन्दा
ध्रुव ताराप्रति अगाध मोह थियो
कारण
उसको जस्केलीबाट चिहाएर
ध्रुव तारा
उसको ओछ्यानभरि पोखिन्थ्यो
भोकै सुतेको रात होस्
या रक्सी घोकेर सुतेको रात होस्
ध्रुव तारा

उसको निधारमा टप्लक्क बस्थ्यो
र ऊ धपक्कै बल्दथ्यो ।


नदीको छातीमा एकाग्र
बल्छी थापिरहेको थियो
 
परबाट
एक हुल नानीहरू रमाउँदै आए–
‘माझी दाइ...माझी दाइ
हामीले ताराको गुहु भेट्यौँ ।’
पालै–पालो सुम्सुम्याएपछि
निष्कर्षमा
सबैले एकै स्वरले भने–
‘’ताराको गुहु ढुङ्गाजस्तै हुँदोरहेछ ।’
बल्छी थापिरह्यो
तर कहिल्यै
तारा अल्झिन आएन
बरु, धेरै माछाहरू अल्झिए
र गाउँ भरिकालाई सितन भयो ।

अब त ऊ
ध्रुव तारा झिकीछोड्ने अठोट लिएर
वार पार गर्नेहरूलाई डुङ्गाबाट तार्दा पनि
बल्छी खेल्न छोडेन
नानीहरू किनार उचाल्दै कराउन थाले–
‘माझी दाइ...माझी दाइ

हामीलाई तारा छिटो झिकिदिनुहोस् न ।’

वर्षाको याम न थियो
एक रात
ठूलो बाढी आयो
र निष्ठुरी बाढीले
ध्रुव तारा झिक्न अभ्यस्त उसलाई
बगाएर कहाँ...कहाँ पुर्‍यायो
भोलिपल्ट बिहान
सबेरै
 
गाउँमा अर्को हल्ला चल्यो–
‘नदीमा
रहरलाग्दो जून पनि डुबेकाछ ।’