बध पर्व / अभय श्रेष्ठ
त्यही साथी
छरिरहेछ आज फेरि ममाथि फूल
जसले कुनै दिन
पाएर मेरो शत्रुको इशारा
घोपिदिएको थियो मेरो पिठ्यूँमा छुरा ।
त्यही उद्दण्ड सिपाही
हिँडिरहेछ आज बनेर मेरो अंगरक्षक
जसले कुनै दिन
देखेर मेरो व्रि्रोही अनुहार
हानिदिएको थियो मेरो कोखामा गोली ।
त्यही सम्पादक
छापिरहेछ आज मेरो विरुदावलि
जसले कुनै दिन
सहन नसकेर मेरो व्रि्रोही लेख
थमाइदिएको थियो मलाई अवकाशपत्र ।
त्यही पेशेवर गुण्डा
हाजिर छ आज मेरो लागि ज्यान दिन
जसले कुनै दिन
उसको नेताविरूद्ध उम्मेदवारी दिएको झोकमा
गरिदिएको थियो मेरो पिताजीको हत्या ।
त्यही प्रेमिका
तम्तयार छे आज फेरि मलाई आफ्नो मुटु दिन
जसले कुनै दिन
थुकेकी थिई मलाई मेरो गरिबी र बर्बादीमा
र, समयसापेक्ष मान्छे भनेर
पूजा गरेकी थिई बलात्कारीलाई
-तर, उसको बलात्कारविरूद्ध
प्रतिशोधको भावनाले भइरहेको थिएँ म पागल । )
त्यही इतिहासकार
लेख्न मेरो इतिहास
गरिरहेछ अहिले मसँग अन्तर्वार्ता
जसले कुनै दिन
काटेर मलाई, मेरै रगतले मेटिदिएको थियो मेरो इतिहास ।
मौसमअनुसार बदलिने हावाको दिशाजस्तै
फर्किरहेछन्—
मेरो मृत्युको मूल्यमा हुलका हुल मानिसहरू मतिर
मानौ धुमधाम चलिरहेछ यहाँ एउटा महान् पर्व ।