मनको गीत / सुमन पोखरेल
फुटूँ म आफूबाट
टुक्रियूँ मेरो सम्पूर्णताका एकएक अवयवहरूमा
र
बाँचूँ सबै टुक्रामा पूर्णताले।
यावत टुक्रा जोडिएर बनेको
यो मले
बाँच्न सकेन कुनै भाग पनि
धक फुकाएर।
आफूबाट फुकालेर आफ्ना निर्मितिहरू
देखाइदिऊँ विनिर्माणको एउटा साक्षात् नमूना
डेरिडालाई ।
मबाट भत्किएको एक अंश, एउटा मान्छे
हिँडिरहोस् सडकमा लम्र्याङ्लम्य्राङ्,
बोलिरहोस् अज्ञानले भरिपूर्ण भएर सभाहरूमा,
दुनियाँका तमाम खबरहरू हालेर मथिङ्गलमा
समीक्षा गरिरहोस् र कराइरहोस् भीडहरू माझ,
निमग्न रहोस् आफ्नो लघुताको पूर्णतामा ।
अर्को घोरिइरहोस्
व्यापारका हिसाबकिताब र
कर्मचारीका व्यक्तिगत फाइलहरूमा ।
एउटा पढिरहोस्
एउटा केटाकेटी खेलाइरहोस्
एउटा प्रेममा पौडिरहोस् आजीवन ।
मलाई मन नपरेको एउटा टुक्रो म
कतै कोठाभित्र थुन्निइरहोस् ।
एउटा चोइटो
घरका भित्री आवरण सिँगार्न र
आवश्यकताका भोक मेटाउन लागोस् ।
भ्याउँदैन भने टुक्र्याओस् आफूलाई अझै
तरकारी, मसलन्द, लत्ताकपडा
इन्धन र अरू लठिबज्र हेर्ने
ठेकेदार मान्छेहरूमा ।
एउटा भाग
मबाटै टुक्रिएको भन्नेसमेत बिर्सेर
हाकिमका हरेक मुर्ख्याईँमा थपडी बजाइरहोस्,
हल्लाइरहोस् टाउको र
व्यस्त रहोस् कठपुतली चालहरूमा ।
एउटाले जिम्मा लेओस्
टेलिभिजन, रेडियो र अखवारहरू ।
आफन्त र परिचितहरूका हालखबर घोकेर बसोस् एउटा
सन्चोबिसन्चोका औपचारिकता पुर्याइरहोस्
कहाँ?, के?, कसो?, का चासोहरूमा रुमल्लिरहोस्
सोर्हसंस्कार र जन्मदिनहरूमा सहभागिता जनाइरहोस् ।
अर्को
आफ्ना गतिहीनताका अ-खबरहरू भट्याइरहोस् ।
गोष्ठी, जमघट र केजातिहुँधो धाइरहोस् ।
एक साँझ
भेला गरेर सबै आफूहरूलाई
एउटा समानुपातिक सम्मेलन गराऊँ ।
अरूलाई छाडिराखेर गन्जागोलको निरर्थक बहसमा,
निस्कूँ
कविलाई लिएर ।
मेरो कवि
सम्पूर्णतामा कवि नै रहोस्
नटाँसियोस् अभावले भरिएको मेरो गृहस्थसँग ।
अलग रहोस्
स्वाभिमान बेचेको मेरो जागिरेसँग ।
छुट्टियोस्
मस्तिष्कले थिचिराखेको मेरो जीवबाट ।
कविलाई हालेर आफूभित्र सम्पूर्णतामा
म
कविताको पत्रबाट
समयको खोल झिकेर फ्याँकूँ
उक्काऊँ भूगोलका डिलहरू,
फुटाऊँ चेतनाका झ्यालढोका
भत्काऊँ विपनाका खण्डहरहरू र
निस्कूँ सपनाको उज्यालातिर ।
जीवन आफ्नै अँगालामा लठ्ठिइरहोस्
प्रेमको नदी आफ्नै काखबाट बगिरहोस्
वेदना मेरो प्रेमगीत गाएर मात्तिइरहोस्
पीरको लास फूलको सिरानीमा निदाइरहोस् ।
ज्ञानको जालोबाट फुत्किऊँ
भागूँ, यो विचारहरूको जङ्गलबाट,
समयको यस आँख्लामा टेकेर
भ्रमको पहाडबाट फालहानूँ मनको वेगमा ।
तमाम आविस्कारहरूलाई बोरामा कसी
लुकाइदिऊँ आइन्सटाइनहरूका मस्तिष्कका कुनाहरूमा ।
सँधै थिचिरहने आफ्नै छातीबाट निस्किऊँ
मगजलाई देउरालीमा फुसर्तले थिचिराखेर
पसूँ कल्पनाको बगैँचामा ।
लाजको आवरण सीमाना मै फुकाली
आडम्वरको थाङ्ग्रामा टाँगिराखेर
घामका किरण पहिरिएर दौडिऊँ ।
बादल बटुलेर मैदान बनाऊँ
इन्द्रेणी टाँगेर सिगारूँ ।
हावाको भकुण्डो खेल्दै
'नहिँडेको बाटा'को पल्लो छेऊ पुगी
रोबर्ट फ्रोस्टलाई हात समातेर बोलाऊँ र
दुनियाँतिर फर्किएर 'प्रलाप' सुनाउन आग्रह गरूँ
गिन्सबर्गलाई ।
प्रभूको वर पाएर
निमग्न उग्राइरहेका देवकोटासित
तिमी महाकवि हौ भनी
बाजी थापूँ र
जितूँ एक झोला ताराहरू ।
बौलाहाको सपनाजस्तै यस घर्तीको भविष्यसँग
साटूँ इलियटको 'बाँझो भूमि' र
रहरको कलमले जोतेर
एक बाली कविताको खेती गरूँ ।
यावत् टुक्रा मिसिएर बनेको
यो मले
गर्न सकेन कुनै उपलब्धि ।
फूटूँ म आफूबाट र
केवल
कविलाई लिएर बाँचूँ ।