भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोडसेडिङ् / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:41, 22 मई 2020 का अवतरण
समय
अँध्यारो बोकेर
धर्तीभरि पोखिएको छ।
जून गौरवान्वित छ
एक्काइसौँ शताब्दीको पृथ्वी टेकेर उभिएको एक सहरको रात
केवल आफ्नो उज्यालो ओढी बाँचेको देखेर।
जिस्काउँदो छ, बादलमा लुकेर घरिघरि
तल छामछाम छुमछुम गर्दै हिँडिरहेका आकृतिहरूलाई।
आकाश आफ्नो पछ्यौरीभरि तारा टल्काएर खिज्याउँदो छ
मास्तिर हेर्ने जो कोहीलाई।
यस युगको धर्तीप्रतिको यो उपेक्षा देखेर रिसाउनुपर्थ्यो मैले सायद।
तर म आनन्द लिइरहेछु, यो लोडसेडिङको।
यो अँध्यारो
मेरो देशको
भूत, वर्तमान र भविष्यभन्दा
ज्यादा स्पस्ट लागिरहेछ।