भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उहिल्यैका कुरा / सुदीप पाख्रिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:46, 28 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रिन |अनुवादक= |संग्रह=द...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

उहिल्यै उहिल्यै
घाम पनि हामी जस्तै हुने गर्दथ्यो
रत खेल्न दौडेर आइपुग्थ्यो
बिहानै झिसमिसेदेखि नै
बरण्डामा प्रत्येक दिन
र साँझमा रुँदै छुटिन्थ्यो हामीसँग

उहिल्यै उहिल्यै
बगैँचामा भुलेर टोल्हाईरहने
आँगनको शिरिषको हाँगामा झुण्डिरहने
र घरिघरि छतमा डुलिहिड्ने जून
हामीसँगै लुकामारी खेलिरहन्थ्यो
अनिंदा रातहरुमा रात-रातभर

उहिल्यै उहिल्यै
दन्त्यकथाका किताबहरु पनि
मानिसहरुझैँ हुने गर्दथ्यो
घण्टौँ बात मारिरहन्थे
र झर्को नलागोस भनेर
सजग हुन्थे हरक्षण
साँच्चै नै हामी जस्ता नै थिए कथाका पात्रहरु
र कथाका पात्रहरु जस्तै थियौँ हामी पनि
– उहिल्यै उहिल्यै

उहिल्यै उहिल्यै
गोरेटाहरु, चौकहरु पनि
हामीलाई चोट लाग्ला भनेर
कोमल झन कोमल हुने गर्दथे
र हामी लड्दा हावा पनि
हत्तार हत्तार गरेर
हात थाम्न आइपुग्थे

हाम्रा मनहरु जस्तै उड्थे चंगाहरु पनि आकाशमा
हाम्रा रहरहरु जस्तै गुडथे साइकलका पाङ्ग्राहरु बाटा चौबाटाहरुमा
हाम्रा इच्छाहरु जस्तै हुइकन्थे कागजका नाउहरु बर्सातका पानीमा
– उहिल्यै उहिल्यै


निभ्नुभन्दा बढि बल्थे जूनकिरीहरु
हामीलाई अँध्यारो नहोस भनी
प्रत्येक औँशीका रातहरुमा
बरका हाँगाहरु सजिलै आँग थाप्थ्यो हामी चढ्दा
कविता सुनाएर बहने गर्दथ्यो हावाका झोँकाहरु
गीत गुन्गुनाउथ्यो साँझका आभाहरु कानैमा आएर
रातले पनि अबेर नहुँदै लोरी सुनाएर
सुताउने गर्दथ्यो प्रत्येक रात हामीलाई
– उहिल्यै उहिल्यै त

उहिल्यै उहिल्यै
परीहरु आकाशबाट ओल्र्हन्थे हामीलाई भेट्न
र हामीहरु पनि सपनाहरुको खुट्टा लाएर
हिडिरहन्थ्यौँ गफिँदै उनीहरुसँगै निकै पर... सम्म

उहिल्यै उहिल्यै नै त
घोडाहरुको पनि पखेटा हुने गर्दथे
रत हाम्रा ईच्छाहरुझैँ बुर्कुसी मारिरहन्थे
नीला आकाशहरुमा
यतादेखि उता
उतादेखि यता बारम्बार

उहिल्यै उहिल्यै
ताराहरु मरेर गएका आफ्नै प्रियजनहरु हुन्थे
जून मामा
घाम बडाबुवा
यस्तै यस्तै सबैसंग कुनै न कुनै साइनो हुन्थ्यो
बादलहरु स्वर्ग जाने भर्याङ हुन्थे
इन्द्रेणीले पानी ओसाथ्र्यो जमीनबाट
पोखरीमा जिउ र टाउको मान्छेको
र पुच्छर माछाको भएको
जलपरी पाइन्थ्यो
उहिल्यै उहिल्यै

साँच्चै नै
उहिल्यै उहिल्यै
म सानो छँदा
सुवास फैलन्थ्यो
अबिश्वासका काँडाहरुबाट पनि
अहिले त
देख्छु, हर जीवन
घाइते छन् बिझाँएर
बिश्वासका फूलहरुले नै ।

उहिल्यै उहिल्यै...
उहिल्यै उहिल्यै...