विहग-व्यथा / लेखनाथ पौड्याल
१
न शक्छौ यो आंश टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघाएर जिउन ।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुड्यौ व्यर्थे मेरो मनुज ! तिमिले जीवन किन ? ॥
२
सिधा सादा निर्धाउपर पिर बाधा जति जति
ठूला बाठा टाठा मनुजहरू पार्छन् उति रति ।
घृणा, निन्दा हत्या प्रभृति सब उस्को कटु फल
उनै उल्टो भोग्छन्, विधि-नियम यो जान अटल ।।
३
तिमी जान्ने बाठो मनुज, गुरुजस्तै भुवनको
म लाटो अज्ञानी विग बिचरो दूर बनको ।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियो जानाजानी अहह ! किन उल्टो एरुषता? ॥
४
जगत्-रक्षालाई जुनिभर अहिंसा-व्रत धरी
उस द्वारा व्याघ्र प्रभृति पशु सारा वश गरी । र
हन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्ति-सुखमा
मट्याङग्रा हान्ने भो शिव ! शिव ! उही आज रुखमा ॥
५
तिमी घुम्थ्यो फियों धरणितलमा हामि नभमा
कुनै बेला हुन्थ्यौं उभय तल माथी विटपमा ।
दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ ! तिमिले शान्त नगरी ॥
६
कुनै बेला तिम्रो गृह र फुलबारी वरिपरि
सबै हामी धुम्दा चटुल गतिले कौतुक गरी ।
काठ ! साना माना कुसुमकलिजस्ता शिशु पनी
चरी ! आ. आ: भन्थे, प्रणयवश पुग्थे रुखमनी ॥
७
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा ।
खुसी हुन्थे, भन्थें मनुज-जुनि हो भाग्य-सदन
कठै ! यो हत्यारोपन त उस बेला समझिनँ ॥
८
खसेको दाना वा फलफूल तथा मञ्ज मुजरा
जुटयो जो सो खाई खुसिसित गरी नित्य गुजरा
तपस्वीजस्तो भै प्रकृति--पथको मङ्गल गरी
रहेको यो नि? मकन किन मान्यौ ? हरि ! हरि !
९
हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुति-विवर भर्थे म सुखमा ।
कठै ! बासा बस्थे विजन वनका मञ्जु रुखमा
बिराएँ के मैले ! किन धसिदियौ मृत्यु-मुखमा ? |
तरुण तपसी-बाट, २०१५