कवितासित / पूर्णप्रसाद ब्राह्मण
दुनियां तिम्रो आशा गर्छ कसले तिम्रो मर्म बिचार्छ?
वास्तव तिमी हौ अक्षर माध्यम ! छौ कवितन्त्र स्थितिमा हर्दम !
(१)
भिखको गीत र गन्थन त्यस्तो आत्मा शून्य छ कविता रे त्यो
त्यो ता मान्ने अलक कथेको हो, वा मृतक-श्वास उडेको !
(२)
हो तिमी आफै यदि बोल्थ्यौ त भन्थ्यौ-- 'कविता यस्तो हुन्छ’'
हो तिमी आफै लिपि कोर्थ्यौं त खिच्थ्यौ-- 'आत्मा यस्तो हुन्छ'
(३)
मूक र जडका अन्तर्ध्वनिको अक्षर-- वारिस आफै बन्थ्यो
आँखा भइ को अन्धो ? प्राण भएको मुर्दा हुन्थ्यो ?
(४)
तब तिमीलाई दुनियां चिन्थ्यो- सत्य र शिवसुन्दरको पथमा
तब तिमीलाई दुनियाँ सुन्थ्यो- सच्चा मानवताको ध्वनिमा ।
(५)
'कविता' लिन्छन् तिम्रो नाम हुन्छन् भिखका गीत र गन्थन ।
दुनिया खाली आशा गर्छ, कसले तिम्रो मर्म बिचार्छ ?
(६)