द्विविधा / सानु शर्मा
झस्केर ब्यूँझे
आफूलाई कतै भेटिनँ ।
भेटेँ त केवल
तिम्रो सोचमा सरोवर
तिम्रो यादमा भिजेकी
एउटी मान्छे ।
के यो नै हुँ म?
या तिमी हौ यो?
हतारिदैं ऐना हेरें
होइन, होइन
यो म नै हुँ
मेरै अनुहार टाँसिएको छ
ऐनाको आकृतिमा ।
छामेर जाँचेँ,
हो, यो त मैं हुँ
तर
छातीभित्र धड्किरहेको मुटु
तिम्रो जस्तो किन लागिरहेछ!
मेरा ओठमा टाँसिएको मुस्कान
कहाँ छ र मेरो जस्तो !
दृष्टिमा नभएको
तर, सोचको यस छेउदेखि
त्यस छेउसम्म फैलिएको,
स्पर्शले नभेटेको
तर, अन्तरदृष्टिले हलपल चुमिरहेको
कति आफूजस्तो, कति अभिन्न!
लाग्छ, यो ममा तिमी पनि छौ ।
म छु,
म नै हुँ
तर द्विविधामा छु,
स्वरूप मेरो भए पनि
तिमी नै तिमी पाउँछु आफूभित्र । .
आफू र तिमी बीचको यो अनुभूति
सत्य भैदियो भने कतै
आफूलाई हराएर दुखूँला म
या
तिमीसँग मिसिएकीमा
पूर्णता प्राप्तिको सन्तुष्टीले तृप्त हुँला!
००००