घामको किरण / महेश मास्के
एउटा जीवन जब घामका किरणहरूमा बदलिन्छ
ल्यू शुन, मलाई तिम्रो सम्झना आउँछ
आफूभित्र र आफ्नो चारैतिर
सल्बलाई रहेका अंधकारका शक्तिहरू विरूद्ध
उज्यालोको पक्षमा जब जब एउटा जीवन समर्पित हुन्छ
ल्यू शुन, मलाई तिम्रो सम्झना आउँछ
युवाहरूको रगतले भिजेको रोटी चपाउँदै
रोगमुक्त हुने आशामा झुण्डिएको
क्षयग्नस्त समाजका अपराधहरू विरूद्ध
जब जब एउटा बिद्रोह सुसाउन थाल्छ
ल्यू शुन, मलाई तिम्रो सम्झना आउँछ
रगतले लेखिएका सत्यहरू छोप्न खोज्ने
मसीमा पोखिएका झूटहरुलाई
शब्द शब्द नंग्याउन
जब जब एउटा कलम अठोट कस्छ
ल्यू शुन, मलाई तिम्रो सम्झना आउँछ
सुनसान हुँदै गइरहेको
उद्देश्यको सडकमा एक्लै उभिएर पनि
निराश निस्तब्ध रातहरूमा
जब जब एउटा विश्वास मशाल भई बल्छ
ल्यू शुन, मलाई तिम्रो सम्झना आउँछ
भविष्यको निम्ति वर्तमानसंग जुधिरहेका
सुन्दर फूलहरू उमार्न काँडेघारी पन्छाइ रहेका
बुद्धिजीविहरूका निधारमा
या श्रमजीवीहरूका अनुहारमा
जब जब पसिना इन्द्रणी झें टल्कन्छ
ल्यू शुन, मलाई तिम्रो सम्झना आउँछ
मलाई थाहा छ
एउटा कविता कोर्नु
तिम्रो सम्झना गर्नु होइन
न त तिम्रो स्मृति दिवस आयोजना गर्नु नै
तिम्रो सम्मान गर्नु हो
त्यसैले
शब्दहरूको भीडलाई चिर्दे
एउटा शब्द जब अर्थको खोजीमा हिड्छ
अन्धकारलाई मास्न
एउटा जीवन जव घामका किरणहरूमा बदलिन्छ
ल्यू शुन, मलाई तिम्रो सम्झना आउँछ ।
०००