उद्घोष / सीमा आभास
तपाईंले लेखेको किताब
तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ
मै हुँ यो सभ्यताको धरोहर
तपाईंको सभ्य शैली
मन्त्रजस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ ।
तपाईंको निद्रा र सपना
ध्यान, जप, तप मै हुँ
म नै हुँ तपाईंको नग्नता छोप्ने वस्त्र
तपाईंको अहम्को सुरक्षाकवच
तपाईंलाई आराम दिलाउने घर ।
तपाईंभित्र हुर्हुरिने रिसको फिलुङ्गो म हुँ
तपाईंभित्रको भयड्ढर सैतान पनि म हुँ
ईर्श्या र जलनले डामेको तपाईंको मस्तिष्क म हुँ
म नै हुँ तपाईंको मुटुभित्रको ढुकढुक
तपाईंको रगतभित्रको नदी
म नै हुँ तपाईंको प्राण ।
तपाईं जे–जे हो त्यो सबै म हुँ
म जे–जे हुँ तपाईं कुनै पनि हैन
र, म जे–जे हुइनँ त्यो पनि सबै म हुँ ।
तपाईं जहाँ–जहाँ उभिनुहुन्छ
त्यहाँ–त्यहाँ म थेगिदिन्छु तपाईंका पैताला
म जहाँ–जहाँ उभिन खोज्छु
त्यहाँ–त्यहाँ तपाईं भसाइदिनुहुन्छ, मैले टेक्ने जमिन ।
तपाईंको सभ्यताको कठपुतली
तपाईंको अध्यात्मको भ्रम
तपाईंको नैतिक धरोहर
यी सारा–साराबाट आजित छु म ।
तपाईं नहुँदै पनि फेरेको छु सास मैले
हिँड्नसक्छु म आनै पैतालाले
आफैँ पुछ्नसक्छु पसिना आफ्नो
उद्घोष गर्छु !
नशामा धुकधुकी ब्यूँताएर
उतार्नेछु अब मेरो खाँट्टी रूप ।
तपाईंको चेतना जगाउने ज्योति पनि मै हुँ
तपाईंको शरीर बचाउने आत्मा पनि मै हुँ ।
अब भन्नुस् जीवित तपाईं हो या म ?