ओ पर्यटक! / अबीर खालिङ
माथि बक्साफोर्टमा
इतिहासका केही पलहरू कैद छन्
राजाभातखावामा झन अजङ्गको एउटा ऐतिहासिक मुहूर्त
निमग्न सुतिरहेको छ -
ओ पर्यटक महोदय ! हेर्नु नभुल्नु होला ।
चिलापाताभित्रको त्यो अटब्बे जङ्गलमा
नल र दमयन्तीको प्रेम अलपत्र परेको छ
कसम भनेको –
मायाको न्यानो हावाले हरेक आगन्तुकको गाला मुसार्छ त्यहाँ ।
ताजमहलको एउटा सानो तुक्रा त्यँहीं खसेको छ
आनन्द हिँडेर स्वर्ग टिप्नु होला ।
आस्थाको गजुर र मुक्तिको तृष्णा
कि त मनोवाञ्चित कामना छाम्न
पुग्नुहोस जयन्ती र
चडनुहोस् विकट पहाड
कि गङ्गाको नाम जप्दै पुग्नुहोस जल्पेश ।
चियाको हरियो बुट्टामा
दिनहूँ मरिरहन्छन् सपना देख्ने निर्वल ज्यान –
त्यतातिर हजुरको पर्टकीय आँखा
नघुमाउनु होला ।
जल्दापाड़ाको एकसिङ्गे गैडासँग
हजुरको रोमाञ्च कुद्छ-
हात्तीले बोकिल्याउँछ अनुभव नगरिएको जङ्गलीपनको त्रास ।
गोरूमाराको अभयारण्यमा
मन मजुर झन् रमाएर नृत्य मग्न हुन्छ-
क्यानोन कि निकोन डीएसएलआर क्यामेराले
जङगली भैंसीको खिँच्नुहोस् उन्माद ।
पर्यटक महोदय ! विरूप मान्छेको विदग्ध तस्विरले हजुरको क्यामेराको लेन्सलाई
वितृष्णा जगाउला ।
किन खिँच्नुहुन्छ र मान्छे र मान्छेको भोकको बस्ती ?
अभिशप्त जिन्दगी बाँचिदिनुको श्रापले पीड़ित
अस्थिपञ्जरको ब्ल्याक एन वाईट प्रस्तुतिले
कसको आँखामा आनन्दको फुल फुलाउँछ र ?
सह सकिएको मान्छेको बस्तीमा
पर्यटक महोदय ! नजर नडुलाउनु होला ।
दूरदर्शनहरूका पर्दाहरुले
सँधै टाडा राखेका/
अखबारका ब्रेकिङ्ग न्युज बन्न कहिल्यै नसकेका
अधिकार र उज्यालोबाट वञ्चित
वृथा जुनी भोगेर भोकको युद्ध लड़िरहेका/
सपनाको सींमानामा सँधै सहिद भएका
शोषितहरूको किन खोज्नु हुन्छ मुस्कान?
किन खोज्नु हुन्छ आँखामा दीप्ति र ओँठमा गुलाब ?
भैगो, पीरहरूको सानो यो तलाऊमा
आनन्दको नौका विहार गर्नुहोस्
अनि
घर फर्किएर फेसबुकमा लेख्नुहोस् “एन्च्याटिङ डुवर्स”।