बिदा मृत्युबोधमा / कुन्दन शर्मा
(मागेको बिदा)
ल, जान देऊ अब मलाई
बिदा लिदै छु
मुक्त गर्नेछु तिमीलाई
सालनाल काटेर बाँच्न दिएझैँ
आफ्नो नासोबाट ।
रोएर नबोलाए
म फर्कने छैन
पर्खेर नबसे
म आउने छैन
कालले छुट्टयाउँदो रहेछ
अन्तत: सबैको बाटो यहाँ ।
कहिलेकाहीँ सम्झेमा
आँखा चिम्लेर
च्यापे मलाई
मनको अँगालोमा
बिस्तारै खुकुलो हुँदै जानेछ
मोहको त्यो बन्धन पनि
फेरि चल्नेछ
यो जीवन तिम्रो
मबिना पनि ।
यति नै रहेछ
यो सम्बन्ध
मायाको मायासँग ।
(दिन खोजेको बिदा)
बिदा नमाग यसरी
म दिन चाहन्न
तर तिमी गल्दै गएको पनि
हेर्न सक्दिनँ ।
प्रार्थना छ यति नै
तिमी गए सुबिस्तासाथ
मलाई नभनी नभेटीकन
नत्र गाह्रो पर्नेछ ।
दुवैलाई यहाँ छुट्टिन ।
कसरी भनूँ ?
तिमीबिना यो जीवन
कति एक्लो हुनेछ !
त्यो चिताको आगोमा तिम्रो शरीरसित
मेरो मन सल्कनेछ ।
रोएर तिमीलाई गाहो पार्ने छैन
रोक्न सक्दिनँ तिमीलाई
यो अन्तिम यात्रामा
तिमीसित जान पनि पाउँदिनँ ।
बस यही रहेछ विवशता
यो जीवनको
एक्लै जानुपर्ने यहाँ
एक्लो पारेर
मायाले मायालाई ।