मृत्यु / विष्णुविभु घिमिरे
मान्छेलाई गोली ठोक्ता 
मृत्यु नआए के हुन्थ्यो होला ? 
निर्मम कोर्राहरूले चोट दिँदा 
पीडा नचहऱ्याए के हुन्थ्यो होला ? 
मृत्यु हिजोआज साहै सस्तो भएको छ 
बाँच्नु कति महँगो हुँदै गइरहेको छ 
मृत्युलाई हिजोआज 
म चोक-चोकमा भेट्छु 
म सडक-सडकमा डुलिरहेको देख्छु 
कुन्नि मेरा आँखामा सर्वत्र मृत्य् मात्र देख्छु 
जब-जब एउटा जिउँदो राष्ट्र खोज्छु 
म मात्र लाशै-लाशको विश्व भेट्छु
 
अब जीवन शहरबाट विरक्तिएर भाग्न लागेको छ 
अब जीवन बस्तीबाट उजाड भएर हिँड्न लागेको छ 
जीवन अफगानीस्थानबाट 
जीवन कम्पोचियाबाट 
जीवन इरानबाट 
जीवन... 
जीवन..... 
जीवन आफै उभिएको धर्तीबाट 
मृत्युको कुन्नि कुन नयाँ देशतिर 
बसाइँ सरिरहेछ 
मैले मृत्युलाई महान् भनेको थिएँ 
सृष्टिको विवेचक ठानेको थिएँ 
ऊ आफै हो 
ऊभन्दा स्वतन्त्र न कोही छानेको थिएँ 
तर नीच रहेछ मृत्यु-मर्नेहरूभन्दा 
कति सस्तो रहेछ मृत्यु 
स्वयं मृत्युको नीचताभन्दा 
नत्र मान्छेलाई गोली ठोक्ता 
ऊ नआए के हुन्थ्यो ? 
नत्र मान्छेलाई झुन्ड्याउँदा 
ऊ अन्तै हराए के हुन्थ्यो ? 
दास रहेछ मृत्यु पनि 
तर मृत्युले केही जित्तैन 
गोली खानेहरूका अगाडि 
रगत बगाउनेहरूका अगाडि 
मृत्युले कहिल्यै जित्तैन 
देश माग्नेहरूका अगाडि
	
	