यादहरूको सङ्ग्रहालय / मौन आवाज
तिमी अबोध थियौ !
समय
वस्तु
र विचारहरूको सीमाबारे अनभिज्ञ थियौ !
म पनि त्यस्तै थिएँ !
बिल्कुल बाख्राका पाठाहरू जस्तै
कुखुराका चल्लाहरू जस्तै
चराका बचेराहरू जस्तै !
हामी खेल्थ्यौं
भावनाका सुन्दर आँगनहरूमा ।
हामी उफ्रन्थ्यौं
आकाश टेक्दै धर्तीका साँघुरा गल्लिहरूमा ।
हामी लुकामारी खेल्थ्यौं
र लुक्थ्यौं
घृणा भरिएका मान्छेहरूको छातीमा !
घना जङ्गलको
दिशाहिन चराहरू जस्तै
हामी स्वतन्त्र उड्थ्यौं अज्ञानताको पखेटा उचाल्दै !
हामी लड्थ्यौं
आफ्नै सपनाको सुदुर पहाडबाट
र उठ्थ्यौं सुन्दर विहानको प्रतीक्षामा !
हामी
एक पाइला हिड्थ्यौं
र क्षितिज छुन्थ्यौं
हामी पृथ्वीलाई गुच्चा बनाएर खेल्थ्यौं
ट्वाक्क !
हिर्काउँथ्यौं ग्रह र नक्षत्रहरूलाई
ईन्द्रेणीका बहुरंगी बगैंचामा पिसाब फेर्थ्यौं
र आमाको काखमा निर्धक्क सुत्थ्यौं !
जब
लौरो बोकेर बाबा आउनु हुन्थ्यो
हामी हाम्रा गल्तिहरू लुकाउन
लुसुक्क पस्थ्यौं हजुर आमाहरूको निद्राभित्र !
हामीले
जीवनका स्वर्ण क्षणहरू रोपेर आएका छौं
बितेका बाल्यकालहरूमा ।
हामीले
छाडेर आएका छौं
एकएक अमुल्य चिजहरू वहेका बतासहरूमा ।
हामीले
त्यागेर आएका छौं प्रेमका शाश्वत अनुभुतिहरू सम्बन्धका गहिरा दहहरूमा ।
हामीले
आँशुका पोखरीहरूमा
सिंगै जीन्दगी जम्मा गरेर
बनाएका छौं
यादहरूको संग्रहालय !
- जहाँ हामी सुरक्षित छौं ।
०००