राजकुमारी डायनालाई / श्रवण मुकारुङ
मैले तिम्रो आँखाको समुद्रमा
एक जहाज माया
र केही गीतका अल्बमहरू पठाएको छु
ब्रह्माण्डजस्तो यो जहाजको कुनै दिशा छैन
सम्झनाजस्तो मेरो मायाको कुनैलताछैन
आकार छ तर खास आकार छैन
बिसाउनु कुननिर कुनै निर्दिष्ट किनार छैन
तर गतिशील छ/ गइरहेको छ जहाज...
कुनै अप्रचलित दर्शनको किताबजस्तो
बग्दैबग्दै
कुनै वियोगान्त उपन्यासको पात्रजस्तो
तैरिँदै–तैरिँदै
मैले तिम्रो आँखाको समुद्रमा
एक जहाज माया
र केही गीतका अल्बमहरू पठाएको छु
बकिङ्घम दरबारको अदृश्य झ्यालबाट
तिमी–
हिन्द महासागरमा स्वतन्त्र सलबलाइरहेका ह्वेलहरू हेर्नू !
प्रत्येकपल्ट–
पहाडजस्तो ज्वार उठ्दा त्यसभित्र
पूर्वेली आइमाईका कत्थक नृत्यहरू हेर्नू !
तिम्रो अङ्गरक्षक– राजकुमार भएर
घोडा हाँकिरहेको हुनसक्छ समुद्रमा
सर्वाङ्ग खोलेर झ्यालका खुम्चाइहरू
मनलाग्दो बतासको स्पर्श लिनू !
आजसम्म पत्ता नलागेको अर्को दिशा पनि छ यता...
निहार्नू !
फूलैफूलको गुफाभित्र– यो कविलाई
धमिलो तस्वीर खन्याएर नयाँ अल्बमका रिलहरूमा
तिम्रो नाम – मेरो नाम
म यस्तो रोइरहेको हुन्छु– अव्यवस्थित अर्केस्टा
केही विधुर घण्टका अशक्त धुनहरू छन्– तिमीलाई
केही विधवा मन्दिरका अपाङ्ग गीतहरू छन्– तिम्रो देवतालाई
र अल्बमअगाडिको गम्भीर अनुहार– तिम्रो देशलाई
मैले तिम्रो आँखाको समुद्रमा
एक जहाज माया
र केही गीतका अल्बमहरू पठाएको छु ।