विदा हुनुअघि / महेश मास्के
"परिवर्तनले आगतलाई गर्भाधान गराइ सकेको छ
जन्मिने छ फेरि एउटा नौलो समाज
जीवनका असंख्य सृजनात्मक संभावनाहरू बोकेर
प्रसव पीडाका विभत्स रातहरू
बिर्सनेछ इतिहासले
नवजात शिशुको मुस्कान देखेर"
पोखेर
मेरा डायरीका पानामा
रगत मैं राता यी अक्षरहरू
जब उसले मसंग विदा माग्यो
स्नेह-आद्र' मैले सोधे
"आउँदैनौ के तिमी मेरो स्मृतिमा पनि ?"
"आउँछु तर बिलाप र आँसु बनेर होइन
सृजनाका क्षणहरूमा
अनायास नै
जब कलम तिम्रो मुट्ठीमा कसिन्छ
र कापी बदलिन्छ शत्रुका छातीहरूमा
यन्त्रचालित तिम्रा हातहरू उठेर मच्चेपछि
जब तिमी
आफै चकित हुन्छौ
कलम भाँचिएको र कापी च्यातिएको देखेर
बुझ्नू म
उपस्थित छु, गतिशील छु
तिम्रो मानसभित्र"
बिस्तारै छोएर
आत्मविश्वासले प्रदिप्त
उसको दृढ प्रतिज्ञ शरीर
मैले सोधें
"व्यवहारका कठिनाइहरू नि ?"
"व्यवहारको वाद्ययन्त्र माथि खेल्ने
हामी हातहरू हौं
मीठो संगीत सृर्जना गर्न
भन, हातले मानेको छ दुःख कहिल्यै ?"
उज्यालो मुस्कान छर्दै अलि टाढा पुगेर
पुनः जब उसले बिदाका हातहरू हल्लायो
आँखाभरि उसलाई हेरेर मैले सोधे
"फर्कन्नौ के अब कहिल्यै यो बाटो गरी ?"
"जब बाटो छेकेर बसेका रूखहरू ढल्न थाल्छन्
जब आलिशान महलहरू उजडिन थाल्छन्
जब ड्रम र गीतहरूको मधुरो आवाज सुनिन थाल्छ
जब तिम्रा वरिपरिका भाइ बहिनीहरू उन्मुक्त भएर गीत गाउन थाल्छन्
जब एउटा हुरीले तिम्रो आलस्यलाई तितरबितर पार्छ
जब तिमीभित्र जमेको सारा बरफ पग्लन थाल्छ
थाहा पाउनू साथी, म तिम्रो घरको बाटो भएर फकि रहेको हुनेछु
०००
१-४-२०४२ / दरभंगा
प्रकाशित "मूल्याङ्कन" साप्ताहिक