स्वदेश चिनौ / विष्णु न्यौपाने
अस्तित्वमा ईश्वर भेटिंदैन
निधारको भाग्य नि देखिंदैन ।
गरिन्छ जस्तो त्यति भाग्य हाम्रोे
मस्तिष्क उच्चा हुनु रैछ राम्रो ।।
(१)
भागेर आफैं दुख सिद्धिँदैन
मागेर मात्रै सुख भित्रिँदैन ।
डटेर गर्दा जति बन्छ काम
फलेर बाली उति दिन्छ दाम ।।
(२)
आलस्य फालौं अतिदुष्ट तत्व
जगाउँ आफैं श्रमको महत्व ।
सोचेर नौलो शुभकार्य थालौं
सामथ्र्यले पूर्ण गराइ छाडौं ।।
(३)
उद्देश्य राम्रो पनि बुन्नु पर्छ
निर्माणकर्मी कर चुन्नु पर्छ ।
संस्कार सभ्य अति श्रेष्ठ बन्दा
स्वदेश रोज्छु परदेश भन्दा ।।
(४)
उदण्डताको दरबार भित्र
पल्केर चुन्दा तरबार मित्र ।
के बन्नु ज्ञानी अझ मूर्ख हुन्छ
नैराश्यको घोल पिएर रुन्छ ।।
(५)
नेपाल भित्रै सब फुल्नु पर्छ
सधैं सुकीलो मन खुल्नु पर्छ ।
सम्भावनाको शिर देश हाम्रो
बनाउँ आफैं उठी मूल्य राम्रो ।।
(६)
फर्कन्छ क्वैली त वसन्त खोज्दै
जहाँ हरीयो रुख हुन्छ रोज्दै ।
मौलिन्छ पक्कै र स्वदेश जाग्छ
यो दासताचैं परदेश भाग्छ ।।
(७)
विदेशको मोह म त्यागिदिन्छु
म भित्र प्यारो म स्वदेश चिन्छु ।
बोकेर यौटा म अटूट आस्था
यो देश भित्रै म समाधि लिन्छु ।।
(८)