स्वदेश फर्कौं / विष्णु न्यौपाने
उकाली चढुन् ओराली झरुन् मनका तिर्सना
नामेट कैल्यै नहुँने बनुन् रचना सिर्जना ।
जसरी फुल्छ सिर्जना फूल पौरखी आँखामा
उसरी फुलोस मायाँ र प्रीति नेपाली काखमा ।
हिमाल छोइ तराइ झर्छ पहाड सिरिरी
बतास छिरी बाँसको धुन बजे झैं तिरिरी ।
मेची र काली युगीन बगुन् संसार जोडेर
पिरती पोखुन् नेपाल आमा नेपाली गोडेर ।
पसिना झारी गोडेर माटो मलिलो बन्दछ
स्वदेश फर्क नेपाली छिटै देशले भन्दछ ।
वासना छरी फूलले डाक्ता भमरा हाँसेझैं
नेपाली हाँसुन् देशले डाक्ता माधुर्य गाँसेझैं ।
दिलले छाउन् मनको छाप्रो घरको मायाँले
जसरी प्रीति अमर बन्छ घाम र छायाँले ।
देशको मायाँ आँखामा राखी बोलिद्यौ आँखाले
बिपना जडी सपना मीठा खोलिद्यौ आँखाले ।
हिमाल चुली हिउँले छुँदा प्रीतिले छुने मन
नेपाली हामी नेपाललाई बनाउँ आफ्नै धन ।
चुँडाइ मिठो प्रेमको बन्धन् विदेश झरेर
के मिल्छ त्यहाँ हजार मृत्यु छिनमै मरेर ?
सगरमाथा छोएर हावा साथमा आउँदा
संसार आजै जिते झैं लाग्छ नेपाल पाउँदा ।
स्वदेश आफैं सुनौलो पारौं बगाइ पसिना
हटाई सारा विभेदकारी नियम मसिना ।
आकाश मुनि धरती माथि घुमेर फनन
कहिले फिर्ने हे मेरा साथी सुस्तरी भनन ।