स्वप्नवयन / सुमन पोखरेल
तन्तुतन्तु जोडेर
बुन्दछिन् आमाले आफूभित्र सन्तान ।
आफ्नो मनभित्र
आफ्ना सोचाइहरूमा
सँगसँगै बुन्दी हुन् सपनाहरूको एउटा संसार
बिर्सेर अतितका तमाम हारजीतहरू
सहेर वर्तमानका यावत पीडाहरू
र कल्पनाको सीमाभन्दा बाहिर छोडेर
आगतमा चुलिन सक्ने दुःखका डङ्गुरहरूलाई ।
बिर्सेर संसारका दुर्गुणका अनगिन्ति रासलाई
नसोचेर दुनियाँको कपट र बेइमानी
बुनिरहँदी हुन् आमा शायद
असङ्ख्य सम्भावना र अपरिमित सपनाहरू
जसरी बुन्दछन् चराहरूले आफ्ना सन्तानका लागि गुँड ।
अहो !
बन्द गरौँ दुनियाँका निकृष्ट जालझेल र दुरभिसन्धिहरू
जोगाऔँ जीवनका सुन्दरताहरूलाई
सुरक्षित बनाऔँ धरतीलाई धरतीमा आउनेहरूका लागि ।
तिम्रा र मेरा
अनेक धूर्त्याइँहरूबाट सशङ्कित भएर
फेरिन् भने आफ्ना सपनाका रूपलाई
आमा हुने तरखरमा रहेकीले,
नजन्माउने सोचिन् भने आफ्नो सन्तानलाई तिनले
संसारको भविष्य के होला ?