अनाधिकार प्रयत्न / गीता त्रिपाठी
प्रत्येक परीक्षाहलमा हिजोआज
संविधान सभाको बैठक चलिरहेछ
नियम मिच्ने प्रत्येक परीक्षार्थीहरूको कोलाहल !
मानौँ तिनै लेखिरहेछन्
नवीनतम संविधान नयाँ नेपालको !
वार्निङ बेलमा अड्किरहेको समय
ती काट्छन् बडो बेचैनीका साथ
आँखा जुधाएर आँखा छल्नु
अनि हाई काढेर बिउँझिएको स्वाङ पार्नु
बसेकालाई उठाउनु र उठेकालाई लडाउनु
अनि कुर्सीको खेलमा कुर्सी नै अदलीबदली गरिदिनु
बस्
यिनै वीभत्स आकृतिहरूले
यो परीक्षाहललाई संविधान सभाको बैठकजस्तै बनाएको छ
बेचैन छन् नयाँ संविधान लेख्ने यी नवोदित हातहरू
तर सिङ्गै देश छट्पटाइरहेको म देखिरहेछु
यिनको बेचैनीमा सबैभन्दा ज्यादा संक्रमित छ देश
म देश हेर्न नसकेर यिनका अनुहारबाट
दृष्टि फेरिरहेछु
शब्द र सङ्केतहरूको अनाधिकार प्रयत्नमा
देश डुबाउनेहरूको लामो भीड छ यहाँ
सूर्य, विकास, सागर र दिपकहरू...
राई, लिम्बू, दाहाल र अधिकारीहरू...
सुशीला, ममता, दिव्या र शीतलहरू...
चौधरी, झा र बज्राचार्यहरू...
सीमानाको बिचमा यसैगरी उभिएकी छु म
बानी परिसकेको छ मलाई आफ्नै श्वाससँग आफै निसास्सिन
अनुशासनका बुँदाहरू अरूचिपूर्वक सुनाउँछु
र बारबार दोहर्याइरहने गल्तीलाई
पहिलोपटक माफी भन्दै
नदेखेको अभिनय गर्छु ।
मेरो सारा आशाको मझ्यौला किरण
सुशीला गुरूङको भविष्यमा गएर कुँजिन्छ
निमा लामाको उत्साहमा पुगेर टुङ्गिन्छ
मङ्गलराम चौधरीको लगनमा
जातीयताको सीमाना कोर्न चाहन्न
त्यसैले देवकोटामा पुग्छु र आफैलाई सुनाउँछु-
"मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन..."
बाहुनको भान्छामा सगर्व भाँडा माझिरहेको
निर्धन सम्राट कार्की
मेरो उचाइभन्दा अग्लो विश्वास फिजाउँछ
नयाँ आविष्कारको दृढ लक्ष्य भरिएको साँचोले
ढोका खोल्छ र
संवाद बोल्छ- "म म्यानेजर हुन्छु।"
संभवतः यही भान्छाघरजस्तै सफा र व्यवस्थित गर्ने
उही हुनेछ नयाँ नेपालको पहिलो व्यवस्थापक
सूर्योदयको किरणले अलिकति उघ्रिएको हिमालजस्तै
उसैको अनुहारका खापाबाट
अलिकति चियाइरहेको देश देख्छु
एक घण्टापछिको वार्निङ बेलमा
एकैचोटि उठ्छन् सभासदजस्ता परीक्षार्थीहरू
थमाउँछन् रित्ता उत्तर पुस्तिकाहरू
म बहुलाउँछु- नागरिक यो देशको,
एउटा परीक्षाको पर्यवेक्षक
यी उत्तर पुस्तिकाहरू मलाई
मेरो देशको संविधानजस्तै लाग्छ !
फरक पाउँछु त एउटै कुरा-
उनीहरू आजीवन संविधान लेखिरहन चाहन्छन्
यिनीहरू एकै घण्टामा बाहिरिन !