अन्तिम आकाश. / सविता गौतम दाहाल
कहिल्यै ख्याल राखेनौ
कुनै चौतारी पर्खिएनौं
कुनै देउराली संझनाको वादल बनि वहेनौं
केहि क्षण साथको आग्रह
दिएर कारणको सुन्दर फूल
सधैं सधैं अगि वढयौ ।
एउटै गन्तव्य
तय गर्नु पर्ने आयतन उही
रुखहरु, नदीहरु, पहाडहरु, वाटाहरु उत्तिनै
कहिले दाया किनारामा
कहिले वायां
संगै भएर, भएनौं साथसाथ ।
एक्लै बस्दा आएर बसेनौ मेरो छेऊ
तिम्रो छेउछाउ कहिल्यै खाली देखिन् ।
त्यो थिएन ईष्याको पूmल
लागेन संभावनाको कोपिला
ऑशु , आशा र सपनाको त्रिवेणी पुगिने
खोला सम्म भेटिन् ।
एउटै दुरी
तय गर्नुपर्ने आकाश उत्तिनै
केहि अघि, केहि पछि
एक्ला एक्लै
गरेनौँ कुनै सल्लाह ।
पोल्ने आगो ठानेऊ
या मारिने वीष वुझेऊ
या जमाउने हिऊँको ढिक्का ।
मुटु आफै छेडियो
विस्तारै कोषिकाहरु जन्मीए
र आफै पुरियो ।
उस्तै छ मेरो मुटु आजपनि
कुनै फूर्सदमा ख्याल गरेर हेर्नु
कुनै चौतारी पर्खिएर वस्नु ।
संगै हिडौंला, बांकी बाटो
संगै उडौंला, अन्तिम आकाश ।