भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

क्रय-बिक्रय जीवन होइन / श्रीपुरुष ढकाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सबै मान्छे बिक्री हुँदैनन्
व्यर्थै तिमी किन्न नखोज
भेटेजति, देखेजति
सबको मूल्य जान्न नखोज ।

होलान् कोही आमा बेच्ने
भाउजू, दिदी, बहिनी बेच्ने
भन्दिनँ म हुँदै हुँदैनन्
मूल्य पाउँदा आत्मा बेच्ने
यसो भन्दैमा जसको पनि
मूल्य तोक्दै किन्न नखोज
भेटेजति, देखेजति
सबको मूल्य जान्न नखोज ।

धेरै छन् यहाँ स्वाभिमानी
आफ्नो अहम्लाई माया गर्ने
शिर झुकाई बाँच्नुभन्दा
आफूलाई नै बलिदान गर्ने
क्रय-बिक्रय जीवन होइन
व्यर्थै सबलाई किन्न नखोज
भेटेजति, देखेजति
सबको मूल्य जान्न नखोज ।