खगोल,पृथ्वी र मान्छे / विष्णु न्यौपाने
( आकाशीय पिण्ड र मानवीय स्वभावको लेखाजोखा)
जन्मदा  जन्मले मान्छे ठूलो वा सानु बन्छ र ?
बन्दैन ; ग्रहले बन्छ ; हुन्छ यस्तो र  अन्तर ?
नहुँदा  जन्ममा  दोष कुण्डली जन्मको किन ?
पल्टाइ हेर्दछन् पात्रो सधैं ती ज्योतिषी किन ?
भविष्य  कर्मले बन्छ भाग्यले बन्छ खै  कति
विना कर्म कहाँ बन्छन् भाग्यले विश्वका पति ?
पिण्ड छन् खरबौं तारा हजारौं सौर्य  मण्डल
नौवटा   ग्रहले  मात्रै भाग्य के भिन्न पार्छ र ?
जन्मचैं   सृष्टिले  दिन्छ दिंदैन  सभ्यता पनि
संस्कार दृष्टिले दिन्छ  राष्ट्रिय  भावना  पनि
ज्ञानले  दृष्टि जन्मन्छ  विज्ञान  ज्ञानशास्त्रले
दीक्षाचैं लक्ष्यले खोल्छ  भविष्य  उच्च कर्मले ।
गङ्गा  आकाशका भित्र शून्यमा पिण्ड छन् कति ?
रवि, शशी  कयौं यस्तै ग्रह, तारा  अति  अति ।
रवि  किरणका  सामु  ग्रह, तारा  बिलाउँछन्
सन्ध्याका  बलमा मात्रै सुस्त सुस्त  उदाउँछन्
खगोल भित्रका तारा गन्छ को ? गन्न सक्छ र ?
सक्तैन, खरबौं छन् यी  लाखौंमा पर्छ  अन्तर ।
खरबौं खरबौं  तारा  शून्यमा  श्वेत शीत झैं
चम्किला छन् कुनै ज्यादा मधुरा पनि छन् उनै
प्रकाश बर्षका  लाखौं  लाखौं  योजन  दूरिमा
सौयमण्डल  छन्  ज्यादै  अदृश्य पृष्ठभूमिमा
गर्छन्   परिक्रमा  पुछ्रे कोटीतारा  तमाम ती
पार्दोहो  कसरी  दृष्टि  विज्ञान  रुप  मानवी ?
सौर्यमण्डलका  भित्री   ग्रहका  श्रम  सम्पति ?
शनि, मंगल वा  शुक्र  पृथिवी  र   वृहस्पति
अरुण, बुध हुन् बाँकी  बाँकी हुन् यम बान्धव
प्राचीन  रोमका  नामी  देव संज्ञान  हुन् सब
सूचना बाहकै   कोही  देवका  पनि  देवता
जलका  धनका कोही  ज्ञान, मान  र प्रेमका
विद्या  गणितको  तीखो प्राचीन रोममा थियो
फैलाई विश्वमा कीर्ति बने ती बुद्धिका  मियो
मानव  जनकी  माता   धरती  शिशुवत्सल
सूर्यका   दूरिमा  तेस्री  पृथिवी  जीववत्सल
रसातल  छ   पाताल   संमृद्ध  छ  धरातल
मण्डलाकार   संसार   सुकुमार र  निश्चल
सुन्तलाकारमा    घुम्दै   सूर्यलाई    परिक्रमा
गर्दा  वृत्त  सधैं  हुन्छन्  पिण्डका  पद भारमा
पृथिवीतलकी  यौटै    उपग्रह   समीप   छिन् 
शशीका  नामकी काव्य श्वास भित्र अमीट छिन् ।
चन्द्रिका  रातकी रानी  रातमा चम्किली बनी
पृथिवी भरमा शान्ति  शीतल छर्दछिन्  उनी
सिङ्गो यो धरती घुम्छ  शून्यमा  अति  वेगमा
हल्लन्न तर यो कैल्यै  घोप्टन्न पनि  जोसमा
झर्दैन तल या  माथि  चड्दैन  नत  पंख छ
गुड्दैन  रथयात्री  भै  सुत्तैन  गति नित्य छ
कुद्छ  रेल  कुदे जस्तै शून्य मै पनि लीख छ
देखिन्न लीखको दृश्य  मार्ग नित्य अभिन्न छ
घुम्छ  चक्र सरी  यौटै  पिँध अर्विटमा  धरी
ढल्के झैं शिर क्यै कोल्टे फन्फनाई  सरीसरी
दिन बन्छ र दौडन्छ  दौडन्छ  अनि  रातमा
रजनी जूनमा  भुल्दा  दिनचैं  रवि   पात्रमा
बाजी   थापेर  दौडन्छ   सूर्यलाई   हटाउन
फर्कन्छ , सूर्यको शक्ति कहाँ  सक्छ  घटाउन
भेटौं के के भनी हिँड्दा आशाका  धुनकी धरा
ख्यालै ख्यालै बनीदिन्छन् दिन   रात सदासदा
लम्बिँदा  कक्षको  दूरीे  रात  लामा  अथाहका
छोटिँदा  कक्षको  दूरी  दिन  लामा  अथाहका
यात्रा त्यो ध्रुवको गर्दा  ठण्डीमा ह्यूँद  डुब्दछ
यात्रा भूमध्यको  पर्दा  गर्मी  उतप्त   बन्दछ
शिशिर ल्याउँदा सुख्खा यामका चिज पाक्तछन्
पन्छाई  पातका  धुस्सा थकाइ  रुख  मार्दछन्
वसन्त पनि यी दिन्छिन् फूल झैं फुल्न आखिर
शरदी स्वस्थता दिन्छिन् जिन्दगी  भुल्न खातिर
वर्षा बर्षन यी दिन्छिन् खाओस् मानिसले पनि
लगाई  अन्नका बाली पालियोस् सुखमा  भनि
छ वटै ऋतुकी ज्ञाता बाह्र राशी  यिनै त हुन्  
नक्षत्र बिचमा  कोण खिच्ने विज्ञ  यिनै त हुन्
यी सारा नियमै बन्ने  सूत्रचैं  मात्र  एक  छ
अक्षमा  पृथिवी  घुम्दा प्राप्ति  मात्रै अनेक छ
माता हुन् पृथिवी हाम्री हामी  सन्तान हौं सब
राखेर काखमा दिन्छिन्  सम्पूर्ण  सुख  वैभव
दौडेर  दुःखमा  आफू  सन्तान  सुख  चाहना
राखेर  गर्दछिन्  सेवा  प्रेमको  उच्च भावना
मात्रै दिन भए  मान्छे  आराम  पाउँथ्यो कहाँ
मात्रै रात भए  गथ्र्यो कर्म  कस्तो र  रातमा
सन्ध्या, उषा छ मध्यान्ह पहर  चार   रातको
मासमास नयाँ ज्योति शान्ति बेग्लै छ  प्रातको
न्यानो चाहेछ मान्छेले भानुका  तापमा  सरिन्
शान्ति चाहेछ मान्छेले  चन्द्रका शीतले  भरिन्
प्रकाश तेज भो  भन्दा  पर्दा  बादलको   तुनी
हम्किन्छिन् ओसिलो  हावा चीसा  पर्वतका मुनि
लाग्यो तिर्खा भने दिन्छिन् जरुवा   मूलको जल
लाग्यो भोक भने दिन्छिन् बगैंचा  वृक्षका  फल
देखूँ  दृश्य  नयाँ  भन्दा अग्लिन्छिन् शिखरै बनी
पौडन्छु जलमा  भन्दा  जम्दछिन्  सागरै बनी
उड्छु  पंख जडी भन्दा वायुमा  चाप  भर्दछिन्
गुड्छु पांग्रा धडी भन्दा  मैदानीस्थल  धर्दछिन्
धनका  सुनका  खानी खानी छन् यी फलामका
तेलका  नुनका  उस्तै काँचका  अनि  ग्याँसका
माटोले  उब्जनी दिन्छ  वास  दिन्छ  सुवासिलो
पानीले  जिन्दगी दिन्छ  दिन्छ श्वास  सगर्विलो
जलमा  स्थलमा  नौला  जडीबुटी   छरी  छरी
सन्तान सुखमा पाल्छिन् गरी   औषधि  मञ्जरी
अक्सिजन  उमारेर  जीव  राख्छिन्  सधैं  खडा
लुकाई खोंचमा  राख्छिन्  विशालु ग्याँसका घडा
जो तातो भागहो आगो पिंधमा  त्यो लुकाउँछिन्
कोरको   बाहिरी पाटो लेदिलो  यी बनाउँछिन्
चट्टानी  भागले   विर्को मारेर    सब   पत्थर
राखेकी काखमा  मान्छे  पोसेकी   जगतै  भर
मान्छेकी  जननी माता ब्रम्हाकी  पनि ब्रम्ह हुन्
जिवात्मा आत्मकी दाता परमात्मा  यिनै त हुन
शक्तिशाली  धरा भित्र चुम्बकीय छ  शक्ति  छ
गुरुत्वाकर्षणै    अर्को ग्रहका  बिच  शक्ति  छ
प्रत्येक  कणमा  शक्ति   ग्रह  तारा   जताततै
सम्पूर्ण  पिण्डमा आफ्नै  क्षमता   अनुसार  कै
ठूलो  पिण्ड  भए  ठूलो  शक्तिले क्षेत्र  तान्दछ
सानो  पिण्ड भए सानै  शक्ति  यस्ले समेट्तछ
तानिँदा  एक   अर्कामा  सन्तुलित  बनी  गति
दौडँदै शून्यमा घुम्छन्  आ–आफ्नै  कक्षका पति
स्वतन्त्र  तन्त्र चाल्दै ती धार आफ्नै  समाउँछन्
जे छ आफ्नो छ स्वीकार्य आफैंभित्र  रमाउँछन्
गर्दैनन्  लालसा निन्दा अर्काका   गुण दोषको
टेक्तैनन्  अरुको सीमा स्वाभिमानी समाज हो
रिस  राग  कतै  छैन ईष्र्या वा	 दुष्टता मति
ठूलो वा सानु सोचिन्न  एकैनास  छ  उन्नति
सृष्टिमा लोभको भाँडो पायो मानिसले कि वा
साँच्चै नै लालसा जाग्छ  मात्रै मानिसमा सदा
क्रोधले, लोभले  खैंची  स्वार्थले  मन  जेल्दछ
स्वार्थी त्यो मनले  आफैं असंख्य दुःख झेल्दछ
देवका   पनि  हुन् देव  ती  माहाँदेव   शङ्कर
खुल्थ्यो रे धन  देख्तामा नेत्र   तेस्रो   भयङ्कर
युग  ब्युँझाउने   कैयौं  युगका  युग  नायक
लोभमा   जीवनै  त्यागे  ज्ञान के फलदायक ?
नहुँदा  स्वार्थको  खेती  अरबौं  साल  सम्बत
बाँचे  यी खरबौं पिण्ड हाँसी  हाँसी  सबैसित
इन्द्रिय  शून्य भै मान्छे  पिण्ड झैं शून्यमा अडे
सबैको  मित्र बन्दोहो  हाँस्तो  हो  धरणी  भरे
आकाश भरिका पिण्ड को गन्छ ? गन्न सक्छ र ?
छैन  तर  कतै   शत्रु    छैन   युद्ध   परस्पर
मात्र मानिस हुन् जोडी भए   भेट    छिनैभर
काटाकाट  गरी  मर्छन्  अचम्मै  देख्छु अन्तर
पीडा सन्तानका खप्तै  थुम्थुम्याउँदछिन्   धरा
हत्यारो   तैपनि  बन्छ  मानिसै  अरुको  सदा
राख्तैन जीव जीवात्मा  सृष्टिका  ती कुनै पनि
मारेर  निर्दयी सक्छ  घच्चा क्यै  नभए  पनि
हजारौं  वस्तु सिर्जन्छ मान्छेकै  मात्र  सौखमा
सिकारी  बन्छ  सौखैमा  मात्तिँदो   परिवेशमा
जनावर सबै मार्छ   मार्छ  आफ्ना  कथा व्यथा
स्वतन्त्र बन्छ ऊ मार्न मान्छे, माता, अझै धरा
बनायो   खुकुरी   भाला  धारिला  तरवार ती
गोली, बन्दुक पड्काई  मास्तो भो धन सम्पति
अणुबम  बने  दुष्ट  क्षेप्यास्त्र पिण्ड  ग्याँसका
एकैले  पृथिवी  मास्छ अरु छन् अझ नासका
उत्कृष्ट  सभ्यता   भित्र  जन्मने  सारथीहरू ?
स्वयं नै मासिने  दुष्ट  संस्कृति  नबनोस्  बरु
जंगली   युगको मान्छे  शिकारी घोर झुण्डमा
हिंड्थ्यो नाङ्गै बनी खान्थ्यो मासु काँचो लुछीकन
वास वा गाँस त्यो काँचो  काँचै त्यो धन सम्पति
काँचो  बुद्धि मति  काँचै सभ्यता  पनि  जंगली
लड्थ्यो मास्न भनी दोस्रोे झुण्ड भेटे विरन्तरी
साम्राज्य  फैलिने जित्ता  हारे  दास सधैं  भरि
हो  त्यही  जंगली  तत्व मान्छेमा छ अझै पनि
हिंसा त्याग्दैन ऊ कैल्यै  जस्तै   सभ्य  बनेपनि
‘सभ्यता तत्व’ पानीको फोका सरी  छ सार्थक
किमार्थ  मासिने  छैन  पशुत्व   भावको  पथ  
सिकेको ज्ञान पर्दा  हो खोल वा  बाहिरी  पन
भित्र त्यै जंगली  तत्व  बाहिर   ज्ञान  लेपन
सभ्यता पातलो झिल्ली  टाँसिन्छ  लक्पकाउँदै
मौका   छोपेर  नासिन्छ  चुहिन्छ  तप्तपाउँदै
असभ्य तत्व फैलन्छ  छेडी  झिल्ली जताततै
कर्कला   पातमा   पानी  जम्दैन  थर्थराउँदै
 
	
	

