जिन्दगी र जिन्दगी / विप्लव प्रतीक
म पहिले कल्पना गर्थें
अहिले धुम्धुम्ती सोचिरहन्छु
आँखामा सप्तरङ्गी तस्बिर नाच्दानाच्दै
अब सायद आँखामा एउटा फुलो परेछ, सप्तरङ्गी फुलो ।
जीवनमा आएका वसन्त, शिशिर
वर्षा र हिउँदलेलाईम
निरन्तर चोट र प्रहार मात्रै दिएको रहेछ ।
म कुप्रो परेर
बाँकी जीवनका बिस्कुनहरू
समयको लठीले यताउति पल्टाउँदै जान्छु ।
मौसम प्रतिकूल, ओस लागेको छ
चारैतिरको दुर्गन्धले
फोक्सो सास लिन नसक्ने भएको छ ।
आँखा उठाएर हेर्छु
रगत र मासुका चिथ्ला ढुसी परेर गन्हाएको
चिसो पसलभित्र
पकपकी माटो उप्किने गारोमा खिया लागेको कीला ठोकेर
नाइलनको डोरीमा बगरेले सुकाएको बोसोका पत्रहरूझैँ
जिन्दगी सुक्दै जाँदैछ ।
यहाँ केको सार छ ? निस्सार के हो ?
म घोत्लिरहन्छु, तर जवाफ छैन
हुन सक्छ यसको उत्तर पहिले नै भनिसकियो
र हामीले सुनिसक्यौँ
सके सुनेर पनि याद गरेनौँ ।