भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

टिस्टाको अन्तिम कविता / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

काकाकुलीहरू फोक्सोभरिको हावा फालेर सुस्केरा हाल्छन्
अति नै भो अब त !
धरतीमा रगत पनि देखिन छाड्यो
तिर्खा मात्रै देखिन्छ,
जम्मै जीव वनस्पतिहरू हाम्रै आकार प्रकारमा रुपान्तर हुँदै जादैछन् त !

कहाँ लुकाउँ मनको धारा?
थोपा बाछिटा तप्कना नामका चिसा मिठासहरू अब रहने छैनन्
छोरी बुहारीहरू साउने पानी छल्न माइती घर जाने आउने छैनन्
असारे झरी भदौरे झरी तीते झरी फापरे झरी आदि एकै आँतका दिदी बहिनीहरू भेट्दा
छुटिँदा अँगालिएर बेस्मारी रुने छैनन्
पँधेरा हुने छैन पँधेरामा गाग्री गाग्रीमा धारा
धारामा मायाको भाका हुने छैन
गाग्रीभरी पानीको शुभसाइत,
कलसभरि पानीको पुजा हुने छैन
पछ्यौरीको कथा,
पछ्यौरीमा लागेको दाग धुइदिने धोबी दाजै हुने छैन
साँझपख पँधेरामा इन्द्रेणीको लर्को हुने छैन
बेला अबेला डुलिहिड्ने देवदेवीका छायाँ हुने छैन
चामेहरू पानी भर्न पँधेरा आउने छैनन्,
माइतीघरमा गौँथलीहरूलाई पनि पँधेराको तिर्सना आउने छैन !

कुलो हुने छैन खेत हुने छैन
बाउसे रोपाहार बीउ बिजन विस्कुन खला दाँई न्वागी
क्यै हुने छैन
कुल पितृ देवदेवी भूतप्रेत चढाउने मन्साउने
नयाँ उत्सव, पर्व, आयोजन केही हुने छैन !

मुहान र स्रोतहरू दुवालीमा थुनिनेछ्न्
छाल तरङ्ग लहरहरू ढडियामा फस्नेछन्
सिम्सार, दह र सङ्ला पोखरीहरू जाल र बल्छीमा पर्नेछन्
नाऊँ हुने छैन न त पतवार
मझधारमा पार लाउने माझी दाई हुने छैन
केवटको वनबासी कथै हुने छैन !

छिट्टै र सजिलै मर्नेछन चेपेगाँडाहरू भ्यागुता र पाहाहरू
गङ्गटा असला बुदुना र सुनौला शाहारहरू<ref>पुटिटर महसिर/ गोल्डन महसिर /हिमालयन महसिर-टिस्टा नदीमा पाइने संसारकै विरल माछाको प्रजाति ।</ref>
झारपात र नदीभित्र टुसाउने लहरे औषधिहरू
प्रतिदिन नदीमा केश धुन आउने सुनकेसरी रानीहरू
निद्रे पानीमा निदाउने देवीहरू
छिट्टै बिर्सिइने छ नदीमा बगाइएकी सोरठी रानीको कथा
जलपरीका कथा कालीनाग र नागलोकका कथा
समुद्रमन्थन र नीलकण्ठको कथा
फड्के पुल र मनलाई मनसँग जोड्ने लामा लामा सेतुहरू कयै रहने छैनन् !

सहस्र भगीरथहरूको तपस्याले पनि
भागीरथी अतरण सम्भव भएन अब,
अगस्ति तिर्खाले छटपटाइ रहेको हिंसा छ
अब न त टिस्टा चराका गतिमा आउने छ
न त रङ्गीत सर्पका चालमा आउने छ !

दुमो जोगाउने सह राख्ने, मानुपाथी भर्ने बेला रहेन अब
न त रस न त रक्सी
न ओखती न त अमृत नै हुनेछ
तिर्खा र भङ्कर डढेलो हुनेछ
केवल कहाली लाग्दो मान्छे हुनेछ
मान्छेको खडेरी लागेको गिदी हुनेछ
न त योग न त सम्भोग
न कुनै राग न त पराग
न रज न वीर्य
न रुद्री न चण्डी
न कुनै लिङ्ग अभिषेक
केवल मसान मसान हुनेछ
जागित्रेको पनि शेष अवसान हुनेछ
टिस्टा रङ्गीतको रसिलो प्रेम कथाको अन्त हुनेछ
के अब यो टिस्टाको अन्तिम कविता हुनेछ ??

 ............................................................................
 रचनाकाल -२७.११.२०१९