तिब्बत / उदय प्रकाश / सुमन पोखरेल
तिब्बतबाट आएका
लामाहरू
घुमिरहन्छन् अचेल
मन्त्र गुन्नुनाउँदै ।
तिनका खच्चरका झुन्डहरू
बगैँचामा पस्दछन्, तर
खाँदैनन् सयपत्रीका बिरुवाहरू ।
सयपत्रीको एउटा थुङगामा
कति फूल हुन्छन्
पापा ?
तिब्बतमा बर्खा भएको बेलामा
हाम्रोमा कुन मौषम हुन्छ ?
तिब्बतमा तीन बजेको बेला
हाम्रोमा कति बजेको हुन्छ ?
तिब्बतमा
सयपत्रीका फूल
हुन्छन् कि हुँदैनन् पापा ?
लामाले शङ्ख बजाउँछन्, पापा ?
पापा, लामाहरूलाई
ओढ्ने ओढेर
अँध्यारामा
छिटोछिटो हिँड्दै गरेको देख्नु भएको छ
कहिल्यै ?
कुनै मान्छे मर्यो भने
त्यसको चिहानको वरिपरि
शिर झुकाएर
उभिन्छन् लामाहरू ।
तिनीहरू मन्त्र पढ्दैनन् ।
खुस्खुसाउँछन् तिनीहरू... तिब्बत
... तिब्बत ...
तिब्बत - तिब्बत
... तिब्बत - तिब्बत - तिब्बत
तिब्बत - तिब्बत ...
... तिब्बत ...
... तिब्बत - तिब्बत
तिब्बत ........
र रोइरहन्छन्
रातभरि ।
के लामा पनि
हामी जसरी नै
रुन्छन्
पापा ?
………………………………………………
इस कविता का मूल हिन्दी पढ्ने के लिए यहाँ क्लिक करेँ