भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुःखका सुसेली / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


 
एउटा असहज सपना नयाँवर्ष झैँ आउँछ र जान्छ
केही आशाहरू इतिवृत्त बन्छन् विगत
केही वर्तमानले चिथोर्छ कोपर्छ
आगतको अभ्यागत साइँलो
निरन्तर भोलिका आशहरूमा बाँचिरहन्छ।
 
साइँलो मन सधैँ एउटा सपना देख्छ
सधैँ एउटा आशा रोप्छ प्राप्तिको
प्रत्येक यथार्थहरूमा साँढे
हरेक रात सडक गल्लीतिर डोकाका डोका सपना चर्छ र उग्राउँछ
फेरि अनि फेरि
उच्चाटलाग्दा रातहरूमा साइँलो
अहोरात्र सपनाहरू रोपिरहन्छ
गोडिरहन्छ। उकेरिरहन्छ
प्रत्येक कल्पनाहरूमा साइँलो
टुलुटुलु छोरो स्कुल गएको हेरिरहन्छ
छोरी बिहेमा
झ्याइँ झ्याइँ पन्चे बाजा घन्केको सुनिरहन्छ
एक टकले श्रीमती आँखामा साइँलो
आफ्नो यौवन हेरिरहन्छ। रमाइरहन्छ।
साइँलाले धेरै पटक
समयसँग हिँड्न खोज्यो
समयसँगै चल्न खोज्यो
तर समयलाई साइँलाले
कहिल्यै आफनो अनुकूल पाएन
सधैँसधैँ समयलाई साइँलाले
फगत
पानी दर्कनुको अर्थमा परिभषित गरेको छ
घाम चर्कनुको अर्थमा परिभाषित गरेको छ
त्यसैले साइँलो सोचमा समय
घाम लाग्नु हो
पानी पर्नु हो
हुरी चल्नु हो।
 
विडम्बना !
साइँलो तिखा सिङहरूदेखि डराइरह्यो
तर समयलाई एउटा मैमत्त साँढेको रूपमा चिन्न सकेन
कमिजको झ्यालबाट संसार हेर्ने
साइँलोजिउका आँखाहरू चिच्याइरहे
समयलाई एउटा हृष्टपुष्ट साँढे देखेर
साइँलाले सुनेन
सुरुवालको खुल्ला सीमाभित्रबाट
अतिक्रमण गर्ने
निर्धा घुँडाका पाङ्ग्राहरू बिलापिरहे
साइँलाले बुझेन
असमयमै मुर्झाउन लागेको
साइँलो छोरी बैँस टुलुटुलु हेरिरह्यो
कागजका पानामा बग्न नजान्ने
साइँलो जीवन
समयसाँढेखुरमुनि रक्ताम्मे थिचिएको
जिजीविषा हेरिरह्यो
तर प्रतिवाद गर्न सकेन
हाड चन्दन घोटेर रित्तो पेट बोक्ने साइँलो मन
कहिलेकाहीँ खहरेका गर्जनहरू गर्जन्छ
चक्रवातका बहावहरू सुसेल्छ
अपरिभाषित आर्तहरू उराल्ने साइँलो मन
आफैमा एउटा प्रवाह हो
खर्पनका खर्पन सपनाहरू सँगाल्ने साइँलो मन
आफैमा एउटा रोष हो
आफैमा एउटा आक्रोश हो
आफैमा एउटा
अनन्तताको शङ्खघोष हो।
 
छामी हेर साइँलो मन
नौनीभन्दा कोमल छ
नियाली हेर साइँलो मन
हिमालको पानीभन्दा निश्छल छ
परिश्रम ओकल्ने साइँलो हात
मित्रको लागि नमस्कार हो
सधैँ रगत पसिनाले
नौलो इतिहास लेख्ने साइँलो हात
शत्रुका लागि बज्र प्रहार हो।
ऊ जसको नाम साइँलो राखियो
मानिलिएको भए ऊ जेठो वा बिरे हुनसक्थ्यो
भनिदिएको भए ऊ कान्छो वा लुखुरे हुनसक्थ्यो
क, ख, ग, घ ... ...
ए. बी. सी. डी. ... ...
१, २, ३, ४ ... ...
जे शब्दले सम्बोधन गरे पनि
यथार्थमा नामः
मान्छेको परिचय हैन
मान्छेको परिभाषा हैन
साइँलोपरिश्रम उसको स्वाभिमानको परिचायक हो
नाङ्गो ढाड, नाङ्गा पाइताला,
धाँजा फाटेका कुर्कुच्चा, दुई हत्केला ठेला
र एक निधार पसिनाभन्दा पर
साइँलो परिभाषित हुनै सक्तैन
साइँला हातहरू
जो सदा सिपहरू ओकल्छन्
र जुटिदिन्छन् निरीह
मात्र एक छाकका लागि
साइँलो स्वाभिमान
जो सत्यका लागि घाँटी कटाउन तयार हुन्छ
तर झुकिदिन्छ नतमस्तक
मात्र केही पेटहरूका लागि
एउटा छोरो पेट
एउटा छोरी पेट
एउटा स्वास्नी पेट
एउटा स्वयम् पेट
र साइँला पेट समूहहरू
गर्व गर्छन् आफूहरू टमक्क भरिएकोमा
त्यसैले आजकल साइँलाले स्वाभिमानलाई
चार पेटहरू भर्नुको सट्टामा लिलाम गरेको छ।
 
साइँला मनहरू ठुलाबडाहरूजस्तो क्षुद्रताका दोहोरी खेल्दैनन्
विपन्न मनस्थिति लिएर सम्पन्नताको होडबाजी गर्दैनन्
साइँला मनहरू आफ्नै आर्तहरू उराल्छन् /अहर्निश
एक अकिञ्चनका आर्तहरू
आफ्नै मनहरू टालटुल पार्छन्
एक हुल धाँजा फाटेका मनहरू
आफ्नै सुरहरू सुसेल्छन्
दुःखका सुसेलीहरू
सधैँ सधैँ साँचेरै राख्छन् आँखाभरि
आँसुका कोसेलीहरू
अकलुषित साइँला मनहरू
हरेक आरम्भमा
एक भन्ज्याङ सपना रोप्छन्
हरेक विस्तारहरूमा सपना
गोड्छन् / उकेर्छन्
उकेर्छन् / गोड्छन्
हरेक उत्कर्षहरूमा
तर साइँला मनहरूले
एउटा :
अकल्पित अनिष्ट मात्र पाउँछन्
एउटा :
रित्तो नियति मात्र पाउँछन्
त्यसैले साइँलो मन आजकल
कुनै अभीष्ट अनभीष्टमा रुमल्लिँदैन
अश्रुसिक्त साइँलो मन
सजहता साथ सजतन
खुसीका भाव पनि स्विकार्छ
अवषादका भाव पनि स्विकार्छ
उसलाई थाहा छ
डँढेलो लाग्न सक्छ
वनमा पनि मनमा पनि
तर वनको डँढेलो निभाउन सकिन्छ
मनको सकिन्न
वनको डँढेलोले त जलाउने मात्र हो
मनको डँढेलोले पोलेर साइँलो
पटक पटक आहत भएको छ
आखिर एउटा अनिश्चित पेट लिएर
ठिङ्ग उभिएको सत्य न हो साइँलो !
जो पेट टमक्क भरिँदा पनि जप्छ
एउटा महामन्त्र
सन्तोषम् परमं सुखम्
पेट रित्तै हुँदा पनि जपिरहन्छ।
 
अधिकांश अकिञ्चन जन्मे झैँ जन्मेको हो साइँलो पनि
उसलाई जन्माउने उसकी आमाले
अस्पताल र नर्सिङ होमका मुलायम गद्दाहरू पाइन
सम्पन्नहरूले खाने जस्ता तागतिला खानेकुरा पनि खाइन
अनकन्टार निबिड चिसो माघे रातमा
कुनै चिसो भुइँको चिसो कुनामा
सायद चिसै नियति बोकेर जन्मेको हो साइँलो
साइँलो बालक नाकले
हर्लिक्सको गन्धसम्म सुँघ्न पाएन
निरीह साइँलो कानले
सेरेलेक्स र ल्याक्टोजिनहरूको
नामसम्म सुन्न पाएन
बालक साइँलो जिब्रो सधैँ
अभाव चाखेर रमाइरह्यो
निष्कलङ्क साइँलो पेट सहास्य
भोक पचाएर हुर्किरह्यो
सधैँ सधैँ एक मन स्कुल जाने आशा बोकेर साइँलो
निर्निमेष आँसु बहाइरह्यो
यथार्थ चर्याहरूमा सधैँ आफूलाई
गाईबाख्राको पछि दौडाइरह्यो
घाँस दाउरा बटुल्न कुदाइरह्यो
न कहिल्यै भनेजस्तो एक छाक खान पायो
न कहिल्यै चिताएजस्तो एकसरो लाउँन पायो
सधैँ सधैँ साइँलो ढाड
अभावको घामले सेकिइरह्यो
अहोरात्र साइँलो मन
आँसु भेलहरूमा रुझिरह्यो
जीवन एक पहाड पीडा भोग्नुको नियति हो
प्रमाणका लागि साइँलो हृदय छामी हेरे हुन्छ।
 
बरु साइँलालाई बाख्रापाठाले
बिरालीका लहरा मन पराउँछन् भन्ने थाह छ
कुरिलाका जराको कुँडोले भैँसीको दुध बढ्छ भन्ने थाहा छ
साइँलालाई थाहा छ बन्सोले दुध पग्रन्छ
खाक्सी खस्रेटोले दुध सुक्छ
अँगेरी विषालु हुन्छ
आदि... आदि...
 
हो !
साइँलाले जीवन व्यवहारको महाविद्यालयमा
यस्तै कुराहरू पढेको छ यस्तै कुराहरू जानेको छ
ऊ ज्वरो आउँदा पनि झाँक्री गुहार्छ
पेट दुख्दा पनि
उसलाई ब्रुफेन, न्युरोबिन थाहा छैन
सिटामोल, भिटामिनको झोल थाहा छैन
ऊ खयरको काठ उमालेर पिउँछ
रोगहरूको उपचारमा
र तन्दुरुस्त पनि हुन्छ
साइँलो प्रयास
क्षयरोगलाई पनि
ढ्याङ्ग्रो बजाएर तर्साउन उद्दत हुन्छ
गानो, गोला अनि ग्यास्टि्रकलाई पनि।
 
वसन्त त्यस बेला पनि आउँथ्यो
कोइलीहरू त्यता पनि भाका हाल्थे
त्यता पनि गुन्जन्थे मायाप्रेमका राग विराग
बैँसका ऊहापोहहरू
पोखिन्थे त्यता पनि मनहरूबाट
साइँलो मनले पनि अनुभूत गरेको छ
छातीले थेग्नै नसक्ने नीलाकाशको मोहनी
सुगन्धित हावाको मादक स्पर्श
कौमार्य छरिरहने प्रकृतिको माधुर्य
ऊ पटक पटक एकाकार हुन चाहेको छ
यहीँको धरती, आकाश र माटोसँग
यहीका वन, पाखा र पखेरासँग
भोग्नुको नाममा धेरै पटक रित्तिएको छ ऊ
र हरेक रित्तोपनमा आफूलाई
झन् भरिपूर्ण पाएको छ साइँलाले
उसको हृदयभरि बिम्बहरूको जुलुस छ
उसका आँखाभरि सपनाहरूको ताँती छ
उत्सर्गको फूलबारीमा साइँलो
हरेक पल रोपिरहन्छ
सिर्जनाका अगणित फूलहरू
ऊ आँखाको बाटो हुँदै हृदयसम्मै पुगेको छ
र घन्काएको छ अनन्त बैँसालु रागहरूको सिम्फोनी
वासनाको पदचापसम्म छैन। देखिन्न
उसको बैँसालु कामनाको क्षितिजभरि कतै पनि।
 
सर्टिफिकेट छैन ऊसँग
तर जीवनका असङ्ख्य अक्करे भिर छिचोल्ने
अर्को अघोषित हिलारी पनि हो साइँलो
लेकबेसी चहारेर जीवन अन्वेषण गर्ने कोलम्बस हो साइँलो
गाईबाख्राको जुलुस लिएर राजनीति गर्ने उसले
पटक पटक नाराहरू लगाएको छ
शान्तिले बाँच्न देऊ
एक छाक खान देऊ
एक सरो लाउन देऊ
प्रत्युत्तरमा उसले केही पाएको छैन
सिबाय गाईबाच्छाका बाँ... बाँ...
र बाख्रापाठाका म्याँ... म्याँ...हरू।
 
साइँलो गाउँ र सहर बाँचेको छ
हाँसेर पीडाका सुस्केरा बाँचेको छ
बाँच्नकै लागि जीवन नामको जिनिस दाउमा राख्ने ऊ
रोएर हात फैलाउन जान्दैन
सिङ्गो देशको स्वाभिमान काँधमा बोकेर
सिङ्गो मानवताको भारी ढाडमा बोकेर
साइँलो आज पनि देशकै गीत गाउँदै हिँडिरहेछ
आज पनि मान्छेकै गीत गाउँदै हिँडिरहेछ
साइँलो तिम्रो छातीमा पनि हुर्केको होला। हुर्कनै पर्छ
एउटा साइँलो मेरो छातीमा पनि हुर्किरहेछ।