भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुर्गम / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हिँड्दाहिँड्दै
त्यो विश्वासघाती बाटोले
लिएर आयो मलाई
यो निर्जन एकान्तमा
जहाँ मलाई पुग्नु थिएन
र हरायो आफू
मबाट अदृश्य भएर,

थुप्रै रात
आकाशका असंख्य ताराहरू गन्दै बिताएँ,
चौतारीछेउ जमेको पोखरीमार्फत केही पीडा
मान्छेहरूलाई जाहेर गरेको पनि हुँ
नतमस्तक
मौनव्रत धारण गरिरहे – रूखपातजस्तै
मान्छेले पनि,
 
त्यसबेला,
आफ्नो आवाजसिवाय केही सुन्न सकिनँ मैले,
घाउसिवाय अर्थोक केही सुम्सुम्याउन सकिनँ मैले,
म स्टेसनमा छुटेको कुनै काम नलाग्ने झोला बनेँ
टेक्दै अघि बढे हजारौं पाइतालाहरू,

म भत्किएको पुरानो मन्दिर बनेँ
आस्थाको कुनै दियो बालिएन
मेरो उज्यालो खुसीका लागि,

सबैको मायाबाट मुक्त भएपछि
नाटकीय स्नेहको पर्खालबाहिर
आफन्तहरूको दैलोबाट गलहत्याइएपछि

अहिले
सम्झिँदैछु – फेरि आउनेछन्
ती आफन्तजस्ता अनुहार भएकाहरू
माटोको कसम खाएर
कुनै नयाँ आश्वासनको तक्मा भिराउनेछन्
र लाग्नेछन् आफ्नो बाटो वर्षौंका लागि
यता भने
म उभेको माटोले माटो नै बनाउनेछ मलाई !
म हिँडेको बाटोले बाटो नै बनाउनेछ मलाई !!