भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

न्याउली रोयो निरमाया / विप्लव ढकाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


निधारको पसिना र आँखाको आँसु पुछिदिने
मायालु बताससँग कुरा गर्दागर्दै,
डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर
कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै,
टिनिनि … टिनिनि …
पोल्टोभित्र बज्न थाल्यो रिङटोन !
ए निर्मली !
झिक मोबाइल, क्याच्च थिच र ‘हेलो’ भन—
मनमा यसरी काउकुती लाग्ने गरी
फेरि यति चाँडै कसले ग¥यो होला यो फोन ?
कि फेरि कुबेतको तेलखानीबाट
‘सञ्चै छ्यौ मेरी रानी ?’ भन्नलाई
आफ्नै मनको राजाले गरेको हुनुपर्छ यो कल !
कि त चौकीबाट अन्तरे हल्दारले मिस कल दिएको हुनुपर्छ !
कि काँसको फूल जस्ती आमाले माइती गाउँबाट
‘के खाइस् छोरी ?’ भन्नलाई गरेको हुनुपर्छ !
कि त्यही मोरो डाँडाघरे झिल्केले
‘निर्मली भाउजू, बाख्रा कता लाने ?’ भन्नलाई गरेको हुनुपर्छ !
टिनिनि … टिनिनि…
न्याउली रोयो निरमाया !

नत्र किन यसरी बढ्छ यो मुटुको ढुकढुकी
र घरीघरी बजिरहन्छ यति उराठ लाग्दो धुन ?
लौ न ए निर्मली !
आधा बाटो हिंड्न त अझै बाँकी छ !
घरमा काल कुरेर एक्लै बसेकी छिन् बूढी बज्यै
उनलाई च्याँख्ला पकाएर खुवाउन बाँकी छ !
टाट्नामा बाख्राहरु सिलोक भनिरहेका होलान्
तिनलाई खनिउँको डाली र पानी खुवाउन बाँकी छ !
खोरमा संगिनी गाइरहेका कुखुराहरुलाई चारो दिन बाँकी छ !
गोठमा बालुन खेलिरहेको भैंसीलाई कुँडो दिन बाँकी छ !
पँधेरा जान बाँकी छ ! जाँतो घुमाउन बाँकी छ !
सिन्दुर लाएको सत्ताइस दिनमै छोडी जाने निर्मोहीलाई
पर्खी पर्खी बाँच्न अब सत्ताइस जुनी बाँकी छ !
सपनाहरु सम्झिएर सास फेर्न बाँकी छ !
मोबाइलको ब्यालेन्स त सकिन्छ चाँडै—
तर कति लामो हो यो जिन्दगी ? कति लामो हो ?
रात कहिल्यै सकिंदैन ! दिन कहिल्यै सकिंदैन ! !
सपनामा आफ्नै गोठको भैंसी फुकेर जीउभरि नाचिरहन्छ !
झ्यालमा हल्दार जस्तो बिरालो आउँछ र मिस कल हानिरहन्छ !
यो दशैंमा लुङ्गी किन्छ्यौ कि सारी ?
इस्कुसको झ्याङमा लुकेर त्यही पापी झिल्केले बारम्बार सोधिरहन्छ !
आफ्नै हाँगाको लौरो टेकेर टुकुटुकु हिंड्छन् रुखहरु !
सुनाखरीले आफ्नो चुल्ठोमा आफैं सिउरिन्छ फूल !
आफू नाच्नका लागि आफैं गीत गाउँछ मालीचरो !
तर निर्मली ! कहाँ हरायो इन्द्रेणीको आधा चक्का ?
रात कहिल्यै सकिंदैन ! दिन कहिल्यै सकिंदैन ! !
टिनिनि … टिनिनि …
न्याउली रोयो निरमाया !

झिक मोबाइल, क्याच्च थिच र ‘हेलो’ भन—
मनमा यसरी डढेलो लाग्ने गरी
फेरि यति चाँडै कसले ग¥यो होला यो फोन ?