भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पर्ख हे साथी ! / माधवप्रसाद घिमिरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 पर्ख हे साथी ! म पनि आएँ सङ्सङै जाउँला
पोल्टाको खाजा छायाँमा बसी बाँडेर खाउँला ।

थाङकोटबाट चढौंला चन्दागिरिको उकाली
हिमालचली चियाउलिन् नीला परदा उचाली
द्यौरालीमाथि सुसेली-भाका मिलाई गाउँला
पर्ख हे साथी ! म पनि आएँ सङ्सङै जाउँला

दशोटा बाटा मिसियून् आज एउटै बाटोमा
दिलका फूल गाँसियून् सारा एउटै मतोमा
एउटै तारा ताकेर हामी नौ लाख जाउँला
पर्ख हे साथी ! म पनि आएँ सङ्सङै जाउँला

विदेशी को हो, बिरानु को हो, एउटै धर्तीमा
गरीब को हो, अछूत को हो, एउटै मूर्तिमा
हे बन्धु मेरा, अंगालो हाली हाँसेर जाउँला
पर्ख हे साथी ! म पनि आएँ सङ्सङै जाउँला

अर्कालाई छली अगाडि जानु उन्नति होइन
दुःखको श्रम सोसेर खानु सम्पत्ति होइन
मिलेर बन्धु बसौंला सारा बाँडेर खाउँला
पर्ख हे साथी ! म पनि आएँ सङ्सङै जाउँला ।

दुःखीको आँसु भिजेको हुन्छ सुखीको मजामा
मान्छेको बलि चढेको हुन्छ मान्छेकै पूजामा
छि: यस्तो क्षुद्र दरिद्र चाला कुल्चेर जाउँला
पर्ख हे साथी ! म पनि आएँ सङ्सङै जाउँला

...........................
जागृति, १।६ माघ २६