भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रतिक्षा / ज्योति जङ्गल
Kavita Kosh से
ओ पृयतम् !
अब केही हुनुछैन
शिखा निभेको मैन
घाटको खरानी झैं छु,
मैले आकांक्षालाई बल्न दिइन,
तर धुवा कसरी भरियो आँखाहरुमा
सबै सुकाइदियो आसु ?
ढुकढुकीहरुले एकैचोटी
विगुल फुके विक्रान्त
र थ्याच्चै बस्न आटेको छ मुटु,
अलिकति तातो मात्रै
पोको परेको छ गलामा
अब क्षणभरमै
हिऊ झैं चिसिनेछ मेरो शरीर,
पृयतम् !
हिड्दैछौ कि तिमी
सुवास लिएर यी बतासका स्पर्शसगै।
बाटोमा कतै ठेस लाग्ला
लम्पसार चिसोसग,
निर्जीवसग,
तिमी आइपुग्यौ भने
त्यो आहटले
आफैँ ब्यूंझन्छ मेरो बेहोशी
त्यो स्पर्शले
आफैँ जन्मन्छ मेरो चेत
तिम्रो आवाजले
आफैँ बौरिन्छ मेरो जीवन,
जसरी होस्,
तिमी आउनुको आस्था
मेरो प्राण पनि साचिरहेछ।