बालक जस्तो म / सविता गौतम दाहाल
म किन उसलाई
पेन्सीलले लेखेका अक्षर ठान्न सक्दिन्
आकाशमा कहिलेकाँही देखिने इन्द्रेनी ठान्दिन
लामो सामुद्रिक यात्रा, संगै खाने, खेल्ने उस्तै भाषा वोल्ने
महज सहयात्री बुझ्दिन
मनमा बोकेर हरदम हिडीरहन्छु ।
किन बालूवाको महलबाट आएको स्वीकार्दिन्
तासको घर बनाएर खेलेको बुझ्दिन्
समुद्र किनार, वालुवामाथि
मसंगै अक्षरहरु कोरीरहोस चाहान्छु ।
किन आकाशजस्तो गर्जिएर मनको विजुली
चट्याङ जसरी उमाथि झार्न सक्दिन्
बादलजस्तो रिसाएर कालो हुन सक्दिन
मुसलधारे वर्षाझैं मायाका वाछिटा वर्षाउन सक्दिन्
संझनाका असिना खसाल्न पाउदिन्
झिलीमिली वत्तीको कलाकारिता
टापूको वसाई, रमाउदै रात्रिभोजमा
उ संधै शामिल भइरहोस, चाहान्छु ।
किन हरेक एकान्त, उ आइसक्छ परीकथाको पात्रझैं
उसका कोमल हात थामेर संसार भूल्छु
रमाएर, घर वोलाउछु
मेरा पुस्तकालयका किताब, मानचित्र सबै देखाउछु
टागिंएका तस्वीरहरुमा आफू चिनाऊँछु
बालक जस्तो छोडदै छोडदिन्
धाम, जून, तारा छुने जिद्दी गर्छु
विज्ञान कथा सुन्दै म निदाएपछि
मेरो हातबाट विस्तारै आफ्नो हात फुकाएर
जाँदो हो उ, आफ्नो घर !