मूर्त अमूर्त मृत्यु ७ / सुदीप पाख्रिन
वृद्ध संग्रहालयबाट
फुत्त...
निस्किएर पुरातन खित्काहरु
गुंँजिरहेका छन्— कातर गोरेटाहरुमा
र, फैलिरहेका छन्— भयभित कुनाकुनामा
कुनै श्रापित गाउँझैँ
दौड्ने गर्छन्
घोडा चढेर
टाउका नभएका
संवेदनहिन, अनुभूतिहिन मुर्कुट्टाहरु
त्रास रोप्दै — मौन घरहरुमा
शदियौंदेखि मुर्ति बनिएर
ठिङ्ग...
उभिएको बुढो घोडाबाट उत्रिएर
युवकझैँ लाग्ने — बुढा मस्तिष्कहरु
फैलिरहेका छन् — डरछेरुवा सडकहरुमा
र, मृत्युको साइरन बजाउँदै हुइकन्छन्
त्रस्त फुटपाथहरुलाई झनै तर्साउँदै
तरुनोझैँ लाग्ने
अखबारका पानाहरुमा
पढिंदैनन् — आजभोलि
जिन्दगीका कुनै सुरिला जिउँदा शब्दहरु
मृत अक्षरहरु
मानविय नजरहरु हेर्दै
ङिच्च मुस्कुराउँछन् — रोगी अखबारहरुमा
बुढा कोठाहरुका
बुढा रेडियोहरु
गाउँदैनन् आजभोलि
कुनै सुमधुर धूनहरु जिन्दगीका
कानै टट्टाउने रेट्छन्
बेसुरिला संगीत मृत्युको
— बेढंगका रेडियोहरु
उफ !
मृत्युझैँ नलाग्ने
यी सस्ता मृत्युहरु !!
मृत्युको अनुहार
बोकेका छन् — पोथ्रा पोथ्रीहरु
र
डुङ्ग...
मृत्यु नै गन्हाउँछ
झाडीहरु,
जंगलहरु,
फुटपाथहरु,
गोरेटाहरु
अनि संभवतः
सिंगो देश नै !!!
र
टुलुटुलु...
हेरिरहेछ यी सबै
मेरो देशको
मेरो आफ्नै
अभिशप्त हिमाल !!