भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मोनालिसाको चित्र / मञ्जु काँचुली
Kavita Kosh से
					
										
					
					आधा आँखा हाँसेको छु त 
आधा आँखा रोएको छु 
आधा मन अघाएको छु त 
आधा मन भोकाएको छु 
यी झुत्रे आशाहरूलाई
आँखाको आधा सुकेको पानीले टल्काएर 
यो मनलाई
विशाल समुद्रको मायाको पानीबाट फर्काएर
भित्तामा टाँगिएको
मात्र एउटा विवशताको अर्पण लिएर 
आधा,
मौनतासँगै अनुहार हराइरहेछु 
आधा,
भावगङ्गाको उज्यालो अँध्यारो सुरुङमा 
यो मन हराइरहेछु 
यो भित्ते पानाको लामो पर्खाइमा
म, मेरै चित्रकारलाई खोजिरहेछु ।
	
	