भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विचरा आगो / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

घुम्लुङ्ग खरानी ओढेर
आगो ऐले धुमधुम्ती बसिराखेको छ ।
रिसले आगो भित्रभित्रै मुर्मुरिँदैछ
आगो खेलाउनेहरूसित ।

फेरि एकपल्ट
हिपोक्रेसीको मातलाग्दो गीत सुनेर
अन्धाधुन्ध घिनलाग्दो नाच नाचेकोमा
आगो आफै पोलिंदैछ भित्रभित्रै ।

आगोले त आफ्नो धर्म छाड्दैन
तर धर्मछाडाहरूले उसलाई
झुक्क्याएर कहाँ कहाँ पुरयाई नाङ्गै नाच्न लगाइरहन्छ
घरिघरि यसरी ठगिएकोमा
दुवै हातले कालो कोइला मुट्ठ्याएर
आफैलाई धिक्कार्छ आगो ।

नयाँ निर्माणको नक्शा देखाएर
उसलाई कहाँ कहाँ पो नाच्न लगाइएन र !

आज विचरा आगोलाई
खरानी घसेर हिँड्ने मन हुँदैछ ।